प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन । आज काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताएका हुन । प्रधानमन्त्री दाहालले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताए । उनले प्राकृतिक वातावरणको हिसावले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको स्पष्ट पारे । नेपाल योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरुका लागि नेपाल मुल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना प्रधानमन्त्री दाहालको भनाइ छ ।



प्रधानमन्त्री दाहालले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रुपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए । प्रधानमन्त्री दाहालले योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिनेपनि उल्लेख गरे ।।



