खोटाङ्कको हलेसी तुवाचुङ्क नगरपालिकामा पर्ने तुवाचुङ्क डाँडा किरातहरुको उदगम थलोको रुपमा चिनिन्छ । किरातीहरुको पुर्खा तोयामा, खियामा र रैछाकुले बसेको स्थानका रुपमा परिचित ऐतिहासिक तुवाचुङ्ग डाँडाको उचित संरक्षण नहुँदा त्यहाँ रहेका पुरातात्विक स्तुहरु बिग्रदै र हराउँदै गएका छन् ।

किराँतहरुको पुर्खाको रुपमा चिनिने तुवाचुङ्क डाँडा अहिले खण्डहर जस्तै बनेको छ । देशमा रहेका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुपर्ने चर्चा चौतर्फि चलिरहँदा तुवाचुङ डाँडाको संरक्षणमा भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन । किरातीहरुको पुर्खा मानिने तोयामा, खियामा र रैछाकुले बसेको स्थानका रुपमा चिनिने यो डाँडालाई नेपालीहरुले लगाउने खाडी कपडाको उद्गम थलोको रुपमा समेत चिनिन्छ । अहिले पनि तुवाचुङ्ग डाँडामा तोयामा र खियामाले कपडा उत्पादनमा प्रयोग गर्ने विश्वास गरिएको ढुंगाका तानहरु देख्न सकिन्छ ।

आदिमकालमा कपडा बुन्न नजान्नेहरुले समेत यो स्थानमा आएर ढुंगालाई छोएपछि कपडा बुन्न जान्ने हुने गरेको जनविश्वास रहेको छ । समय बित्दै जाँदा किरातीहरुको उदगम थलोको रुपमा परिचित तुवाचुङ डाँडा अहिले भने खण्डहर बन्दै गएको छ । यहाँका कतिपय ऐतिहासिक बस्तुहरु हराईसकेका छन् भने भएका पनि जीर्ण अवस्थामा रहेका छन् । जती सक्दो छिटो यहाँ बाँकी रहेका पुरातात्विक बस्तुहरुको संरक्षण गरी प्रचारप्रसार गर्न सके डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।

पछिल्लो समय तुवाचुङ्क डाँडा संरक्षणका लागि पहल थालिएको भएपनि त्यो पर्याप्त हुन सकेको छैन । स्थानीयले तुवाचुङ्क जायजुगँ सरंक्षण समिति स्थापना गरेर स्थानीय सरकारसँगको समन्वमा डाँडा संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने गुरुयोजना बनाए पनि आर्थिक श्रोत र साधनको अभावमा सोचे जस्तो काम भने हुन सकेको छैन ।

समुद्र सतहदेखि १८ सय मिटर उचाइमा रहेको ‘तुवाचुङ’ डाँडा आफैमा प्राकृतिक हिसावले पनि सुन्दर रहेको छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथादेखि समतल मधेससम्मका भूभाग देख्न सकिन्छ । तसर्थ सम्बन्धित सबै पक्षले मिलेर पुरातात्विक बस्तुहरुको संरक्षण गर्न सके तुवाचुङ डाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रचुर संभावना देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय