मजदुरको पारिश्रामिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै चिया मजदुरहरु आन्दोलित बनेका छन् । मजदुरहरुको आन्दोलन अहिले मुख्य सडक काँकरभिट्टामा गरिएको छ।
जिल्लाका विभिन्न क्षेत्रबाट आएका मजदुरहरुले यतिबेला काँकरभिट्टाको सडकमा नारा लगाइरहेका छन् । ‘न्युनतम पारिश्रामिक वृद्धि गर’ ‘पत्ती डबली वृद्धि गर’ ‘रोजगार सम्झौता लागु गर’ लगायतका नारा लगाइरहेका सयौँ मजदुरहरुको आन्दोलनले काँकरभिट्टा अस्तव्यस्त रहेको छ।



‘विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक बढेको छैन, जसका कारण हाम्रो पारिश्रामिक बढाउनुपर्ने माग राखेर हामी आन्दोलनमा छौँ,’ आन्दोलनमा सहभागी भुपाल सापकोटाको,भनाइ छ । ‘सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायत हाम्रो प्रमुख माग हो ।’
उनका अनुसार अहिले चिया मजदुरहरुले ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएका छन् । ‘उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्छ,’ उनी भन्छन् । भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्ने यसअघि नै निर्णय गरिसकेको बताउँदै उनी भन्छन् ‘त्यसकै दबाब स्वरुप यो आन्दोलन गरेक हौँ, भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्छौँ ।’ आन्दोलनमा चिया मजदर नेता दिपक तामाङ , सन्त बा। राई, सहिकुमार र यज्ञ प्रताप अधिकारीले सम्बोधन गरेका थिए।



