काठमाडौं । देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै देशैभरका खोला, नदीमा पानीको तह अत्याधिक बढेको छ ।
सोमबार बेलुकादेखि निरन्तर परेको वर्षाले काठमाडौं उपत्यकासहित देशैभरका खोला नदीमा पानीको सतह बढेको छ । विष्णुमती, धोवीखोला, मनोहरा, बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका नदीमा बाढी आएको छ । विष्णुमतीको खोला किनारमा बसेका घरमा पानी पसेको छ । मुलपानी र कपनको निलो पुल क्षेत्र डुबानमा परेको छ ।



यस्तै बर्दियाको बबई नदीले खतराको तह पार गरेको छ । बबई नदीमा जलसतह ६ दशमलब ८ मिटर पार गरेको छ सिन्धुलीको कमला नदीले पनि जलसतहको सतर्कता तह पार गरेको छ ।
मनसुन सुरु भएसँगै यो वर्ष अहिलेसम्मकै धेरै वर्षा भएको र अब दुई दिनसम्म देशैभर भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर वर्षा भएको छ । सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र काठमाडौंमा ७५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।



