

मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पु¥याएको विवरण सार्वजनिक गरिएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पु¥याएको थियो । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय,प्रशासन र रेडक्रसको सहयोगमा क्षतिको विवरण संकलन गरेको हो ।
नगद सामान र संरचनाहरुमा मात्र ८१ करोड ८३ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ । सडक,मोटरेबल पुल,झोलुङ्गे पुल,गुम्बा,मन्दिर धर्मशाला,सामुदायिक भवन,वडा,प्रहरी चौकीको भवन,तटबन्धन लगायत १४ वटा गरी भौतिक पूर्वाधार तर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण संकलन भएको गाउँपालिकाले जनाएको छ ।






व्यक्तिका पचास वटा घरमा ५२ करोड ८९ लाख ७५ हजार मुल्य बराबरको क्षति भएको पालिकाले जनाएको छ । २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति पुगेको छ । १९ वटा दुई पाङ्ग्रे र तीनवटा चार पाङ्ग्रे सवारी साधन क्षति भएको छ । १९ जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको तीन करोड नौ लाख मुल्य बराबरको सामग्री बाढीले बगाएको छ ।
१२ वटा सरकारी तथा सामुदायिक संरचनामा चार करोड ८० लाख साठी हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । १८ जना कृषकको ४५ रोपनी भन्दा बढी जग्गा बाढीले पुरेको छ । गत साउन २८ गते साँझ कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढीले कागबेनी बजारमा पसेको थियो ।