

गुँला पर्वमा सबैतिरबाट उत्तिकै उत्साहजनक सहभागिता जनाउने गरेको पाइन्छ । यो महिनाभर आफ्नो आस्थाका साथ बिभिन्न बिहार, चैत्य र मन्दिरहरूमा पूजा, दर्शन र प्रदक्षिणा गर्ने प्रचलन रहेको छ ।
नेपालमा प्रचलित पञ्चाङ्गको तिथि मिति गणनामा साउन शुक्ल प्रतिपदा देखि भाद्र कृष्ण औंसीसम्मको एक महिनालाई नेपाल सम्वत्को पात्रो अनुसार गुँला पर्वको महिना भनिन्छ । यही महिनाको शुक्ल पक्षलाई गुँलाथ्व र कृष्ण पक्षलाई गुँलागा भनिन्छ । विशेष गरी बौद्ध धर्मावलम्बीहरूले यो महिनाभर बौद्ध धार्मिक चाड वा पर्वको रुपमा मनाउने गरिन्छ । श्रद्धालु भक्तजनहरू बिहानीपख बाजागाजाकासाथ बौद्धबहाः (बहाल), स्तूप र चैत्यहरूको दर्शन परिक्रमा गर्नें प्रचलन रहेको पाइन्छ ।







यसलाई नेपाल भाषामा ‘बाःचाः हिलेग’ पनि भनिन्छ । हिन्दु धर्म र बौद्ध धर्मप्रति आस्था राख्ने हामीबीच कुनै भेदभाव छैन । सबै धर्मलाई समान आस्था र दृष्टिकोण राख्ने गरिन्छ । बौद्ध धर्मावलम्बीहरू मन्दिरहरूमा सजिलै दर्शन र पूजाआजा गर्छन् । त्यस्तै हिन्दु धर्मावलम्बीहरू पनि बौद्ध बिहार र चैत्यहरूमा उत्तिकै आस्थाका साथ पूजाआजा गर्ने गरिन्छ । गुँला पर्वमा सबैतिरबाट उत्तिकै उत्साहजनक सहभागिता जनाउने गरेको पाइन्छ । यो महिनाभर आफ्नो आस्थाका साथ बिभिन्न बिहार, चैत्य र मन्दिरहरूमा पूजा, दर्शन र प्रदक्षिणा गर्ने प्रचलन रहेको छ । यो नै धार्मिक सहिष्णुताको उदाहरण हो ।
अर्को तर्फ यसै महिनाको पूर्णिमाका दिनमा ब्याँजा नकेगु (भ्यागुतालाई भात खुवाउने), क्वाटी खाने, जनाई फेर्ने र डोरा बाँध्ने, थानकोटमा गणेशको जात्रा गर्ने परम्परा समेत रहँदै आएको छ । भाद्र कृष्ण पक्षको प्रतिपदाका दिनमा यसै वर्ष भित्र दिवंगत भएका घरपरिवारबाट सापारु (गाईजात्रा) पठाएर नगर-गाउँ परिक्रमा गर्ने प्रचलन समेत रहेको छ । थानकोटमा भने यसैदिनको साँझतिर कोतघरबाट गाईजात्राको झाँकी निकाल्छ । सोही दिन बेलुकातिर कोतघरबाट राङ्गाको टाउको बोकेको झाँकी निकालेर सिलाफलस्थित पोखरीमा उक्त टाउको खसाल्ने ऐतिहासिक एवम् मौलिक परम्पराको जात्रा रहेको छ । साथमा लाखेनाच पनि निकाल्ने गरिन्छ ।
चन्द्रागिरि नगरको थानकोटमा भाद्र कृष्णपक्ष प्रतिपदाको दिन बिहानीपख स्थानीय श्रद्धालु भक्तजनहरू थानकोटस्थित नौ धारामा स्नान गर्न जाने परम्परागत प्रचलन रहेको छ । थानकोटको विभिन्न ठाउँमा रहेको पूर्वतर्फ फर्केका ती ऐतिहासिक नौ वटा ढुंगेधारामा स्नान गर्नाले निःरोगी र पूण्यप्राप्ती हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । त्यसैले श्रद्धालु भक्तजनहरू उक्त दिन बिहानीपख झिसमिसेमै बाजागाजाका साथ इमाखेलस्थित सिद्धि गणेशको दर्शन र त्यहाँस्थित ढुंगेधारामा स्नान गर्दछन् । त्यसपछि सिलाफलस्थित सिलाफःहिटी, ताहाफलस्थित सिनाहिटी, देगःक्वस्थित बुंगाःहिटी, गःछेँस्थित गाःहिटी र च्वय्हिटी, नसिम्चास्थित नसिम्चाहिटी, सैँगाउँस्थित सय्गाँहिटी र गाःछेँस्थित गाःछेँहिटीमा भक्तिभावले स्नान गर्दछन् ।
यसरी थानकोटमा नौ धारामा स्थान गर्ने प्रचलन यहि दिनदेखि सुरुवात भएको थियो भन्ने एकीन छैन । हालसम्म कतै कुनै ऐतिहासिक दस्तावेज र अभिलेखहरूमा उल्लेख भएको पाइएको छैन । त्यसैले परम्परागत प्रथा र प्रचलन अनुसार चलिआएको थानकोटको परम्परागत मौलिक संस्कृतिमा आधारित नौ धारामा स्थान पश्चात आफ्ना मनोभावना पूरा भएको महशुस गर्दछन् । त्यसैले मौलिक परम्परा र संस्कृति जर्गेनाका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग र सहभागिता जनाई कम्मर कसेर लाग्न जरुरी छ ।