सन्धिखक अर्घाखाँचीको भुमिकास्थान नगरपालिका २, ढाकाबाङमा चार जनाको ज्यान जाने गरी बनमा डडेलो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।भुमिकास्थान २ ढाकाबांगको वेल्वासे गाउँको बनमा लगाएको आगो सल्किएर गाउँमा भीत्र पसेपछी निभाउने क्रममा चार जनाले ज्यान गुमाएका थिए ।
झाडीमा आगो लगाउनेहरुमा भुमिकास्थान २ का ३६ वर्षिय दिनेश थापा,१८ वर्षिय दिपक बिक, ७० वर्षिय देविराम बेल्वासे र ३६ वर्षिय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरेको छ । जंगली जनावरले सताएर आगो लगाएको उनिहरुले स्विकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।गत बैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको ज्यान गएको थियो । एक जना महिलाको भने अझै उपचार भईरहेको छ ।



उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्राँई गरी ज्यान लिन नहुने नियम ३ को उपदफा १ अनुसार कारवाहीको प्रक्रिया अँगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ । नियममा ६ महिनादेखी दुई वर्षसम्म कैद वा बिस हजार रुपैयाँजरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख रहेको छ ।
अदालतबाट पाँचदिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसै गरि सन्धिखर्क ७,खाँचीकोटको एक सामुदायिक वनमा आगो लगाउने ४१ वर्षिय ईश्वरी प्रसाद न्यौपाने भने १० हजार धरौटीमा रिहा भएका छन् त्यस्तै सन्धिखर्क ३,खाँचीखर्कमा आगो लगाउने ५० वर्षिय मजुना निशालाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।



