काठमाडौं । पहिलो पटक महिलातर्फ ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाललाई ग्लोबल छनोटको पहिलो खेलमै धक्का लागेको छ । काठमाडौंमा आज सुरु भएको आइसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डसँग नेपाल ८ विकेट पराजीत हुन पुग्यो । उत्कृष्ट सुरुवातका बाबजुद मध्यक्रम चल्न नसक्दा नेपाल सामान्य योगफलमा रोकियो । अभ्यास खेल र वार्म अपमा देखिएको सन्तुलनको समस्या समूहको पहिलो खेलमा समेत देखियो ।

बलियो प्रतिद्वन्द्वी थाइल्याण्डलाई हराउँदै घरेलु टोली नेपाल ग्लोबल छनोटमा सुखद सुरु गर्ने लक्ष्यमा थियो । तर, त्रिवि क्रिकेट रंगशाला कीर्तिपुमा छनोटको पहिलो खेलमा ८ विकेटको हार व्यहोरेसँगै नेपाललाई बाँकी खेलमा जितको दबाब बढेको छ । यससँगै थाइल्याण्डसँगको ८ वटै खेलमा नेपाल पराजित भयो । टस जितेर थाइल्याण्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रियो । तर २० ओभरमा सबै विकेट गुमाएर नेपालले १२२ रनको झिनो योगफल बनायो । यद्यपी नेपालको सुरुवात राम्रै थियो । विन्दु रावल र सम्झना खड्काले पहिले विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। उत्कृष्ट सुरुवातका बाबजुद नेपालले पाएको मोमेन्टम कायम राख्न सकेन । छैटौं ओभरको चौथो बलमा सम्झना २६ रन बनाएर आउट हुँदा विन्दुले पुजा महतोसँग ३५ रनको साझेदारी गरिन् । तर १४ औं ओभरमा विन्दु सर्वाधिक ४४ रन र अर्को ओभरमा पुजा १२ रन बनाएर आउट हुँदा त्यसपछि नेपालले लगातार विकेट गुमायो । ट्वेन्टी ट्वेन्टीमा विन्दुको यो उच्च स्कोर हो । मध्येक्रममा अनुभवी खेलाडी रुबिना क्षेत्रीले १७ रन बनाउनु बाहेक ५ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । २ खेलाडीले त खातानै खोल्न सकेनन् । नेपाललाई कम रनमा रोक्न थिपात्चा पुथावङवले ४ विकेट लिइन् । मध्यक्रम चल्न नसक्नुनै हारको कारण बन्यो ।

सम्झनाले अभ्यास खेलमा देखाएको सन्तुलन अहिलेसम्म पनि कायम राख्दा अन्य खेलाडी पनि महत्वपूर्ण खेलमा लयमा आउनु आवश्यक छ । तर विन्दु बाहेक भरपर्दा ब्याटर पूजा महतो, इन्दु र रुबिना छिट्टै आउट हुँदा नेपाल कम योगफलमा नै रोकिनु पर्यो । १२३ रनको सामान्य लक्ष्य थाइल्याण्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । थाइल्याण्डका ओपनरद्धय अफिसरा सुवानचोनराथी र नाथाकान चानथामले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै जितको आधार तय गरे । अफिसरा सुवानचोनराथी २८ रन बनाएर आउट हुँदा नाथाकान चानथामले नानपत‌ कोन्चारोन्काईसँग ४७ रनको साझेदारी गरिन । नाथाकान चानथामले ३९ बलमा ९ चौका र १ छक्कासहित नटआउट ५७ रन जोडिन् । ननापातले ३२ रन जोडिन् । लक्षित भन्दा ३०(४० रन कम बन्दा त्यसको प्रभाव नेपाली बलरमा देखियो । सिता रानामगरले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिइन । सीता र सोमु विष्ट बाहेक बाँकी ४ बलर महँगो साबित बने । यद्यपी टोलीमा सुधारहरु भइरहेको कारण आगामी खेलमा पुनरागमन गर्ने कप्तानको विश्वास छ ।

कुनै समय पुरुष टोली भन्दा अगाडि नै विश्वकप पुग्ने लक्षण देखाए पनि महिला टोलीबाट त्यो अनुरुपको नतिजा आइरहेको छैन । पुरुष टोली आइतबारमात्र तेस्रो पटक विश्वकप खेल्न प्रस्थान गर्दा उमेर समुहका टोलीले समेत विश्वकपमा आफुलाई उभ्याइसकेको छ । अब महिला टोली माथि पनि उस्तै सफलताको दबाब र चुनौती थपिएको छ । अझ घरेलु मैदानमा भएको ग्लोबल छनोटमा नेपाललाई परिचित मैदान र दर्शकको साथ छ । यि तमाम अनुकुलताका बीच पहिलो खेलमा भोगेको हारका कारण अब बाँकी खेलमा टोली केहि दबाबमा हुनेछ । यद्यपी प्रत्येक समुहबाट ३ टोली सुपर सिक्समा पुग्ने हुँदा सम्भावना कमजोर नै भएको भने छैन । तर समुहका सबै टोली वरियता र अनुभवकै आधारमा समेत नेपाल भन्दा स्तरिय देखिँदा दबाब भने बढाएको छ । छनोटको समुह समूह बी मा नेपाल सहित स्कट्ल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स छन् । समूह ए मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी पिएनजी, नामिबिया र अमेरिका छन् । दुबै समुहका शीर्ष ३–३ टोली सुपर सिक्समा पुग्ने र त्यहाँबाट शीर्ष ४ टोली पाँच महिनापछि इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छानिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय