काभा महिला भलिबल नेसन्स लिग च्याम्पियनसिपअन्तर्गत आज पनि तीन खेल हुँदैछन् । प्रतियोगिताको सबैभन्दा चासोको खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुने नेपाल र माल्दिभ्सबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ । समूह ‘ए’ अन्तर्गत नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजय बेहोरे पनि दोस्रो खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै शानदार पुनरागमन गरेको थियो । उक्त जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ । हाल समूह ‘ए’ को अंकतालिकामा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । कीर्गिस्तान पनि ३ अंकमै तेस्रो स्थानमा छ । माल्दिभ्स भने लगातार पराजित हुँदै पहिलो जितको खोजीमा रहेको छ ।

घरेलु समर्थकको साथ पाउने भएकाले नेपाल आजको खेलमा उच्च मनोबलका साथ कोर्टमा उत्रने अपेक्षा गरिएको छ । प्रशिक्षक तथा खेलाडीहरूले माल्दिभ्सविरुद्ध आक्रामक खेल प्रदर्शन गर्दै सहज जित निकाल्ने लक्ष्य लिएका छन् । आज हुने अन्य खेलअन्तर्गत समूह ‘बी’ मा इरान र श्रीलंका आमनेसामने हुनेछन् भने बंगलादेशले कजाकस्तानको सामना गर्नेछ । प्रतियोगिताका सबै खेल हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय