कोशी । कोशी प्रदेशमा सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ ।प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न आह्वान गर्नुभएको हो । बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई साउन १६ गते मंगलबार अपराह्न ५ बजेसम्म आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभयो ।
सर्वोच्च अदालतको पूर्ण इजलासले उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न गरी सरकार गठन गर्ने कार्य संविधान विपरीत भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर हुने आदेश दिएको थियो ।



सर्वोच्चले संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठन गर्न परमादेशको आदेश दिएको थियो । संविधानको धारा १६८ को २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।



