काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि नेपालमै पहिलो पटक साहस, सेवा र स्वास्थ्य चेतनालाई जोड्ने एउटा ऐतिहासिक साइकल अभियान सुरु भएको छ । पूर्वदेखि पश्चिमसम्म फैलिएको १८ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्ग साइकल यात्राले आज देशव्यापी ध्यान तानेको छ । क्यान्सर विजेताहरू स्वयं सहभागी भएर क्यान्सरविरुद्ध सन्देश फैलाइरहेको यो अभियान विश्वमै उदाहरणीय मानिएको छ ।
साहसिक यात्रा, सामाजिक उत्तरदायित्व र जीवनप्रतिको अटुट विश्वास— यी तीनको संगम हो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग साइकल अभियान । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सुरु भएको यो यात्रा जनवरी १ मा पाँचथरको चिवाभञ्ज्याङबाट थालिएर बैतडीको झुलाघाटमा पुगेर टुंगिनेछ । करिब एक महिनामा १८ सय किलोमिटर दूरी र ५२ हजार मिटर उचाइ पार गरिँदैछ । अभियानको नेतृत्व गरिरहेका छन् क्यान्सर विजेता तथा अन्तर्राष्ट्रिय साइक्लिस्ट हर्क लामा । पिसाब थैलीको क्यान्सरलाई जितेका उनी आज उच्च हिमाली भू–भागमा समेत साइक्लिङ गर्ने नेपालका अग्रणी एथ्लेटमध्ये पर्छन् ।



उनीसँगै यात्रा गरिरहेकी तेस्रो चरणको स्तन क्यान्सरलाई पराजित गरेकी कविता चित्रकार । उहाँ क्यान्सरपछि पनि ऊर्जाशील जीवन सम्भव छ भन्ने प्रेरक उदाहरण बन्नुभएको छ । यो यात्रा दूरी पार गर्नुमात्र नभई मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा क्यान्सर रोकथाम, स्तन र पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना र स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यो यात्राको क्रममा संकलित दान र सहयोग रकम धुलिखेल अस्पतालमा उपचाररत क्यान्सर बिरामीका लागि प्रयोग हुनेछ । संकलित रकम विश्व क्यान्सर दिवस फेब्रुअरी ४ मा हस्तान्तरण गरिनेछ । क्यान्सरलाई जितेर जीवनलाई रोज्नेहरूको यो यात्रा आज हजारौं मानिसका लागि आशा, हौसला र आत्मविश्वासको प्रतिक बनेको छ। यो अभियान केवल १८ सय किलोमिटरको दूरी मात्र नभई सन्देश, संकल्प र मानवताको यात्रा बनेको छ ।



