रामेछाप – रामेछापको रामेछाप नगरपालिका स्थित रामेछाप बजारमा रहेको प्रदेश स्तरको रामेछाप अस्पतालमा पर्याप्त विशेषज्ञ सहितको जनशक्ति रहँदा पनि अस्पतालले दिने सेवा बारे जानकारी जाँदा बिरामीको सङ्ख्या न्यून रहेको छ ।
अस्पतालमा बिरामीको जाँच गर्ने पर्याप्त आधुनिक उपकरण सहित विशेषज्ञ सेवा पाइन्छ । तर उपचार गाउन सहनै जानु पर्छ भन्ने भ्रमले गाउँकै अस्पतालमा निःशुल्क पाइने सेवा नागरिकले लिइरहेका छैनन्। रामेछाप अस्पतालमा विशिष्ट विशेषज्ञ सेवा रहेको बताउँछन् । विभिन्न ल्याबको परीक्षण पनि सोही अस्पतालबाट हुने उनले बताए । काठमाडौं र सहकार ठुला अस्पतालले दिने सेवा रामेछाप अस्पतालले नै दिने उनले जानकारी दिए ।



जिल्ला अस्पतालमा अहिले आईसीयू कक्ष समेत सञ्चालनमा छ । काठमाडौंका अस्पतालले दैनिक ५ हजारभन्दा माथि शुल्क लिने सो सेवा रामेछाप अस्पतालमा १५ सयदेखि २ हजार शुल्क लिएर सञ्चालन गरिँदै आएको श्रेष्ठले बताए । अस्पतालले हाल निःशुल्क रूपमा डायलिसिस सेवा, चौबिसै घण्टा मेडिकल लिगल सेवा, सामाजिक सेवा इकाई, निःशुल्क एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरू सम्बन्धी निःशुल्क जाँच, निदानात्मक तथा परामर्श सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ ।
विशेषज्ञद्वारा नाक, कान, घाँटी तथा थाईरोईड रोग सम्बन्धी निःशुल्क जाँच, नवजात शिशुलाई निःशुल्क उपचार व्यवस्थापन, निःशुल्क रूपमा आकस्मिक प्रसूति रेफर तथा निःशुल्क प्रसूतिजन्य शल्यक्रियाको सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ ।
रामेछापका बिरामी खर्च गरेर उपचारको लागि काठमाडौंसम्म पुग्ने गरेका भए पनि जिल्ला अस्पतालमा आउने बिरामीको सङ्ख्या भने निक्कै कम भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष यमकुमार पाख्रिन बताउँछन् । अस्पतालले दिने सेवाको बारेमा बिरामीले जानकारी नपाउँदा यस्तो अवस्था आएको हुनसक्ने उनको भनाइ छ ।



