काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको हो ।



कार्यालयका अनुसार ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौं– एक वर्ष ६ महिना, अपन निर्माण सेवा, ललितपुर – दुई वर्ष, खड्क निर्माण सेवा, बझाङ, एन.एल. कन्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि, काठमाडौँ र काडमाडौँ निर्माण सेवा (संयुक्त उपक्रम) – तीन वर्ष र एम.आर.–आरजे जेभी, सिराहा, आशिष कन्ट्रक्सन, चितवन र आशिष कन्ट्रक्सन मल्टिपर्पोज प्रालि, उदयपुर (संयुक्त उपक्रम) – तीन वर्ष कालोसूचीमा परेका छन् ।
यी कम्पनी तथा संयुक्त उपक्रमहरूलाई क्रमशः विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका (बझाङ) र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजविराजको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन नपाउने कार्यालयले स्पष्ट गरेको छ ।



