चिकित्सकमाथि कार्यस्थलमै हातपात हुन थालेपछि असुरक्षा बढेको भन्दै नेपाल चिकित्सक संघले बैठक बोलाएको छ । भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका लागि भोलि बुधबार दिउँसो संघको केन्द्रीय कार्यालयमा विस्तारित बैठक बोलाइएको हो । पोखरामा सोमबार चिकित्सकमाथि भएको लाठीचार्ज तथा हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास भएको भन्दै संघले अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।



संघले विज्ञप्ति जारी गर्दै पछिल्लो समय हेटौंडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटनलगायतमका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणले आफूहरू नियमित सेवा प्रवाह दिन नसक्ने अवस्थामा पुगेको समेत जनाएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा भेन्टिलेटरमा राखेको विरामीको मृत्यु भएपछि मृतकका आफन्तले आवासीय चिकित्सकमाथि आक्रमण गरेका थिए ।
यसैविच नेपाल मेडिकल काउन्सिललेपनि काउन्सिलले उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि नै आक्रमण गर्नु दुःखद भएको जनाएको छ । उजुरी नगरी चिकित्सक उपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन काउन्सिलले भनेको छ । काउन्सिलले स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउनु हुन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।



