कारागारका अग्ला पर्खालभित्र सामान्यतया ताला, चाबी र सुरक्षाका आवाज सुनिन्छन् । तर चितवन कारागारका केही हात भने अहिले फरक काममा व्यस्त छन् । ती हातहरुले अहिले विपदमा परेकालाई सहयोग गरिरहेका छन् । आफ्नै श्रम र सीपबाट कैदीबन्दीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री तयार गरेका छन् । कारागारका अग्ला पर्खालभित्र यी हातहरू अहिले ताला र चाबीमा होइन, सीप र श्रममा व्यस्त छन् । कसैले सिलाइ गरिरहेका छन् । कसैले डस्ना र सिरानी बनाइरहेका छन् । कानुन उल्लंघन गरेपछि कारागारको जीवन बिताइरहेका कैदीबन्दी आफ्नो सीप र श्रमलाई सामाजिक सेवासँग जोड्ने प्रयासस्वरूप उनीहरूले उत्पादन गरेका सामग्री अब रसुवाका बाढीपीडितसम्म पुग्ने भएका छन्।

पर्खालभित्रको श्रम, पर्खालबाहिरको सहयोग, कारागारमा उत्पादन हुने सामग्री केवल आम्दानीको स्रोत मात्र होइन। कैदीबन्दीका लागि यो समय सदुपयोग गर्ने, नयाँ सीप सिक्ने र आत्मनिर्भर बन्ने र यस्तै देश दुखेको समयमा मलम लगाउने माध्यम पनि बनेको छ । हिजो कानुन उल्लंघन गरेका कारण कारागारको पर्खाल भित्र समिति व्यक्तिहरू आज आफ्नै हातले बनाएका सामग्रीमार्फत समाजका पीडित परिवारसँग जोडिँदैछन् । उनीहरूले बनाएका सामग्री बाढीपीडितको घरसम्म पुग्दा त्यसमा सामानको मूल्यसँगै श्रम, सीप र मानवीय संवेदना पनि जोडिएको छ। विगत आठ वर्षदेखि कारागारमा रहेका चौकीदार किर्तनराज भण्डारी कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका छन् । विपद परेकालाई सहयोग गर्ने इच्छा भए पनि कारागारको कानुनी सीमाका कारण बाहिर गएर सहयोग गर्न सम्भव भएन । त्यसपछि कारागारभित्रैबाट सहयोग गर्ने सोच बनायौ ।

अर्का चौकीदार अमृत पौडेलका लागि पनि यो सहयोग केवल राहत सामग्री पठाउने विषय होइन । कारागारभित्र रहेका सबैलाई एउटै परिवारका सदस्य ठानेर गरिएको मानवीय प्रयास हो । रसुवाको बाढीमा आफन्त र परिवार प्रभावित भएको खबरले कारागारभित्र रहेका कैदीबन्दीलाई समेत भावुक बनाएको छ । करिब साढे पाँच सय जनाको क्षमता रहेको चितवन कारागारमा अहिले ७५२ जना कैदीबन्दी छन् । ७१० जना पुरुष, ४२ जना महिला र दुई जना आश्रित नाबालक छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहे पनि कारागारभित्र सीप सिक्ने र उत्पादन गर्ने गतिविधि भने जारी छ ।

कारागारमा हुने श्रम उनीहरूका लागि समय कटाउने माध्यम मात्र होइन । सीप सिक्ने, उत्पादन गर्ने, आम्दानी गर्ने र भविष्यमा समाजमा पुनःस्थापित हुन सक्ने आधार पनि हो । लागूऔषध मुद्दामा पाँच वर्षदेखि कारागारमा रहेका सुजन गुरुङ पनि कारागारभित्रको सीप र परामर्श गतिविधिमा संलग्न छन् । हामीले बनाएका सामानबाट पीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । सीप सिकेर समाजका लागि पनि केही योगदान गर्न सकिन्छ भन्ने महसुस भएको उनी बताउछन्।

कैदीबन्दीको यो प्रयासलाई प्रशासनले पनि उदाहरणीय मानेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका लागि यो सहयोग राहत सामग्रीमा मात्र सीमित छैन । यसमा श्रम, सीप र समाजप्रतिको जिम्मेवारी जोडिएको छ । कारागारको चारदिवारभित्र रहेर जुन सहयोग गर्नुभएको छ, यो जिम्मेवारी बोधसहितको कर्म भन्दै उहाँ देशभरमै यो नमुना काम भएको बताउनु हुन्छ ।

कारागारका पर्खालले मानिसको आवतजावतलाई सीमित गर्न सक्छन् । तर सीप, श्रम र मानवीय संवेदनालाई सीमित गर्न सक्दैनन् । चितवन कारागारबाट रसुवाका बाढीपीडितसम्म पुगेका यी सामग्रीले यही सन्देश दिएका छन् गल्तीको सजाय भोगिरहेका हात पनि सुधारको यात्रामा समाजका लागि उपयोगी बन्न सक्छन् । विपदमा परेको समाजलाई सहयोग गर्न कारागारका पर्खाल बाधक छैनन् । बरु त्यही पर्खालभित्र सिकेको सीप र गरेको श्रम पीडितको घाउमा मलम बन्न पुगेको छ । रसुवाका बाढीपीडितका लागि पठाइएका यी सामग्रीको मूल्यभन्दा ठूलो छ यसको सन्देश— सुधार, सीप र श्रममार्फत कैदीबन्दी पनि समाजसँग पुनः जोडिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय