ताप्लेजुङ- ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेको दैनिक ६ घण्टा पिकिङ अवधारणामा सञ्चालन हुने उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो । हालसम्म आयोजनाले ९२.३ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्युतगृहको परीक्षण आगामी पुषमा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको हो । व्यावसायिक विद्युत उत्पादनका लागि आवश्यक अधिकांश सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइनसम्बन्धी प्रमुख कार्य सम्पन्न भइसकेका छन् ।

मुख्य बाँध, इन्टेक, स्पिलवे, हेडपोन्ड, स्टिलिङ बेसिन, डिस्यान्डरलगायत संरचनाको अधिकांश कंक्रिट कार्य सकिएको छ भने करिब ५.८ किलोमिटर लामो हेडरेस सुरुङको उत्खनन पूर्ण रूपमा सम्पन्न भएको रेग्मीको भनाई छ । यस्तै हाइड्रोमेकानिकलतर्फ अधिकांश गेट आयोजनास्थलमा पुगेर जडानको चरणमा छन् भने पेनस्टक पाइप जडान पूरा भएको छ । टर्बाइन, जेनेरेटर तथा अन्य प्रमुख विद्युत उपकरणको जडान सम्पन्न भई परीक्षणका लागि तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, १३२ केभी प्रसारण लाइनका सबै टावर निर्माण सकिएको र केही स्थानमा तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट वार्षिक ४२६.०८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । यसमध्ये सुख्खायामको पिक समयमा ७५.०२ गिगावाट आवर, अफ–पिक समयमा ६१.५९ गिगावाट आवर तथा वर्षायाममा २९९.४६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेसनमा जोडिनेछ । प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता भइसकेको कम्पनीले जनाएको ।

मेवा डेभलपर्स लिमिटेडका अध्यक्ष मोहनदास मानन्धरले आयोजना निर्माण सम्पन्नतर्फ उन्मुख हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै सञ्चालनपछि राष्ट्रिय प्रसारण प्रणालीमा स्वच्छ तथा नवीकरणीय ऊर्जा थपिने र उच्च मागको समयमा ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय