काठमाडौं । आफ्ना पितृहरुको सम्झनामा जल र अन्न दिएर गरिने सोर्ह श्राद्ध शुरु भएको छ । स्रोह श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औशीसम्म गर्ने गरिन्छ । सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।
पितृहरूलाई लक्षित गरी विधिपूर्वक जुन कर्म श्रद्धापूर्वक सम्पन्न गरिन्छ, त्यसैलाई नै श्राद्ध भनिन्छ । कुनै ठूलो चाडपर्वअघि पितृलाई सम्झने अर्थात भाग दिने उद्देश्यले दशैंतिहार अघि सोर्ह श्राद्ध गर्ने गरिएको हो । सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वार्द्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी यो अवसरमा दिवङ्गत आफन्तको श्राद्ध गर्ने परम्परा छ । दिनगणनामा एउटा सामान्य पक्ष पन्ध्र दिनको हुन्छ, तथापि यो अवधिलाई जनबोलीमा सोह्रश्राद्ध भनिन्छ ।



विभिन्न समयमा गरिने श्राद्धको संख्या ९६ वटा छन् । सामान्यतः व्यवहारमा परिरहने श्राद्धलाई पाँच प्रकारमा छुट्याइएको छ ।
नित्यं नैमित्तिकं काम्यं वृध्दिश्राध्दं तथैव च । पार्वणञ्चेति मनुना श्राध्दं पञ्चविधं स्मृतम् ।
१. नित्य श्राद्ध
दिनैपिच्छे सन्ध्यावन्दनका समयमा आफ्ना देवपितृ र मनुष्य पितृहरूलाई लक्षित गरी प्रदान गरिने तर्पण र पूजा नित्य श्राद्ध हो । यो श्राद्धमा सामान्य पूजासामाग्री, तिल र शुद्ध जलको मात्र प्रयोग गरिन्छ । यसमा विश्वदेव ब्राह्मणको स्थापना र पिण्डदान गरिदैन ।
२. नैमित्तिक श्राद्ध
अन्त्येष्टि अन्तर्गतको दशगात्र कर्म, वार्षिक पर्यन्तको और्द्ध्वदैहिक कर्म, एकोद्दिष्ट श्राद्ध, एकोपार्वण श्राद्ध नैमित्तिक श्राद्ध हुन् । एउटा सौर वर्ष ३६५ दिनको हुन्छ । एक सौर वर्ष पितृलोकको एक दिन हुन्छ । हाम्रो एक वर्ष पितृहरूको एक दिन हो । त्यसैले दिनदिनै पुत्रसन्ततिबाट तर्पणपिण्ड प्राप्त गरी पितृहरूको आत्मा तृप्त हुन्छ भन्ने विश्वासअनुरूप हरेक वर्ष तिथि समातेर दिवङ्गत पितृको निष्ठापूर्वक श्राद्ध गरिन्छ । यसमा एक जना पितृको मात्र उद्देश्य राखी कर्म सम्पादन गरिने भएकाले यसलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । पितृपक्षको समय, अमावस्या, सङ्क्रान्ति वा अन्य कुनै पर्वका दिन एकोद्दिष्ट श्राद्ध परेमा त्यसलाई एकोपार्वण भनिन्छ ।
३. आभ्युदयिक श्राद्ध
घरमा शुभकर्म हुँदा पनि श्राद्ध गरिन्छ । सप्ताह, पुराणश्रवण, विवाह, व्रतबन्धलगायतका ठूलठूला कर्म गर्नुअघि पितृको समेत पूजा गर्ने प्रचलन छ, त्यसरी पितृलाई सम्झिई गरिने श्राद्धलाई आभ्युदयिक वा बृद्धि श्राद्ध भन्ने गरिन्छ । नान्दीमुखी यस्तै किसिमको श्राद्ध हो । यो श्राद्धमा श्राद्धका सबै विधि गरे पनि पिण्डदान गर्नुपर्दैन ।
४. काम्य श्राद्ध
कामना विशेषले गरिने वा पुण्यक्षेत्र वा तीर्थमा गई गरिने श्राद्धलाई काम्य श्राद्ध भनिन्छ । यसलाई तीर्थश्राद्ध मात्र पनि भन्ने गरिन्छ । जीवनकालमा एक पटक वा सके पटक(पटक औंसी वा अन्य कुनै पावनतिथि पारेर पितृहरूको उद्धारको कामना राखी विभिन्न तीर्थस्थलमा गएर प्रत्येक सन्ततिले क्षमता र सामर्थ्यले भ्याएसम्म श्राद्ध गर्नुपर्ने नियम छ ।
५. पार्वण श्राद्ध
सूर्य कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा भएको वेला गरिने श्राद्ध पार्वण श्राद्ध हो । यसलाई महालय श्राद्ध र नेपाली जनबोलीमा सोह्र श्राद्ध पनि भनिन्छ । दिवङ्गत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने महापर्व सोह्रश्राद्ध हो । महालय श्राद्धमा खासगरी स्वाहा स्वधा दुबैको आह्वान गरिन्छ । यस श्राद्धमा देवऋषि (विश्वदेव ब्राह्मण) र पितृऋषि ९पितृब्राह्मण० को स्थापना गरी स्वाहा र स्वधा दुबै मन्त्रले पूजा गरिन्छ । दिवङ्गत बाबुपट्टिका तीनपुस्ता र मावलीपट्टिका तीन पुस्ताका लागि छ वटा पिण्ड दिने चलन छ । कतैकतै आफूले तर्पण गर्ने सबै मृत पितृहरूका लागि छुट्टाछुट्टै पिण्ड पनि दिने गरिन्छ । हुन त परम्परा र चलनको कुरो हो, तर वास्तवमा छ वटा पिण्ड दिनु नै विधानसम्मत र उचित हुन्छ । सामान्यतया एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा र पार्वण श्राद्ध अपराह्न कालमा गर्ने नियम छ ।



