स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी नेपासले असहमति प्रकट गरेको छ। मन्त्री प्रदीप पौडेलले भदौ ५ गते धनगढीमा बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित भन्दै सुरु गरिएको औषधि वैज्ञानिक परीक्षण, दर्ता र प्रमाणिकता बिना नै प्रयोगमा ल्याइएको भन्दै आलोचना भएको छ। सरकारले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यसहित पहिलो चरणमा २५ आयुर्वेदिक चिकित्सालयमार्फत औषधि खुवाउने कार्यक्रम अघि बढाएको छ। मन्त्रालयले यसका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ।



तर, नेपासका अध्यक्ष डा। अरुणकुमार न्यौपानेले वैज्ञानिक प्रमाण, बाल सुरक्षा र नियामक पारदर्शिता अभावमा स्वर्णभस्म र स्वर्णकल्प प्रयोग गर्न नहुने भन्दै विज्ञप्ति जारी गर्नुभएको छ । १२ महिनामुनिका बालबालिकालाई मह खुवाउन नहुने अन्तर्राष्ट्रिय स्वास्थ्य सिफारिससमेत उल्लंघन भएको उहाँको भनाइ छ। नेपासले औषधिको दीर्घकालीन प्रभावबारे प्रमाण नभएकाले अभियान स्थगित गर्न आग्रह गरेको छ। चिकित्सकहरूले पनि वैज्ञानिक परीक्षणबिना बच्चालाई आयुर्वेदिक औषधि खुवाउनु जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। यसैबीच, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कार्यक्रम पाँच हजार वर्ष पुरानो ग्रन्थ काश्यप संहितामा आधारित रहेको र स्वर्णभस्म, मह र घिउको मिश्रणले रोग प्रतिरोधात्मक क्षमता सन्तुलन गर्ने दाबी गरेको छ। विभागका अनुसार औषधि प्रत्येक आयुर्वेदिक चिकित्सालयमै उत्पादन गरी निशुल्क वितरण गरिन्छ। आधुनिक चिकित्सकहरू भने परीक्षण र प्रमाण बिना यस्तो औषधि राष्ट्रिय कार्यक्रममा लागू गर्नु गैरजिम्मेवार कदम भएको बताउँदै कार्यक्रम पुनर्विचार गर्न सरकारलाई आग्रह गरिरहेका छन्।



