काठमाडौं — नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच यससम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार सुरुङमार्गको शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीले क्यूआर कोडमार्फत समेत शुल्क तिर्न सक्नेछन्। यसबाट नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीलाई नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्ने र भुक्तानी प्रक्रिया सहज तथा पारदर्शी हुने अपेक्षा गरिएको छ।

सम्झौतामा महासंघका तर्फबाट राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गर्नुभएको छ। सरकारले यसअघि नै सुरुङमार्ग प्रयोग गरेबापत विभिन्न सवारीसाधनका लागि शुल्क निर्धारण गरिसकेको छ। हलुका सवारीसाधनले प्रवेशमा ६५ र बाहिरिँदा ६० रुपैयाँ, मिनी बस तथा मिनी ट्रकले ११५ र ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ। त्यस्तै, मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधनले प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। नगदरहित प्रणालीले विशेषगरी नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई शुल्क भुक्तानीमा थप सहजता हुने महासंघका अध्यक्ष बाँनियाले विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय