मकवानपुर — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार बिजय गौतम ले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्नो निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। गौतमले प्रतिबद्धता पत्रमा भ्रष्टाचार, कमिसन, र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै सुशासन, स्थिर सरकार, विकास र समृद्धि सुनिश्चित गर्ने लक्ष्य अघि सारेका छन्। उनले प्रमुख प्राथमिकताका रूपमा “ग्रेटर हेटौडा चक्रपथ” निर्माण, हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने प्रयास, कर्रा, राप्ती तथा बागमती नदी करिडोर निर्माण र ग्रामीण सडक स्तरोन्नति तथा बार्षिक सञ्चालनयोग्य सडक विस्तारको योजना प्रस्तुत गरेका छन्।
उनले राजमार्ग ऐन अन्तर्गत हेटौंडा नगरको विस्तार गर्दा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबाहेक, प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, वडाहरूमा इन्टरनेट सेवा विस्तार र एकीकृत नमुना बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।
गौतमले डिजिटल सेवा विस्तार, ई–सेवा प्रणाली सुदृढीकरण, जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन, व्यावसायिक कृषि जोन विकास, सिँचाइ सुविधा विस्तार र पशुपालन प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन्।



उम्मेदवारले हेटौंडा तथा मयूरधाप औद्योगिक क्षेत्र विस्तार, साना र घरेलु उद्योग प्रवद्र्धन, युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास, पर्यटन प्रवद्र्धन, ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, होमस्टे विकास र आन्तरिक पर्यटनमार्फत रोजगारी सिर्जना, गुणस्तरीय सामुदायिक विद्यालय र प्राविधिक शिक्षा केन्द्र स्थापना गर्ने योजना पनि प्रस्तुत गरेका छन्। स्वास्थ्य क्षेत्रमा गाउँपालिका स्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तार, साथै युवा, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति र अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोष वृद्धि, एक वडा एक महिला उद्यम कार्यक्रम र शिशु स्याहार केन्द्र स्थापना गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ।
प्राकृतिक स्रोत संरक्षण र बाढी–पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना, चुरे संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र “एक सामुदायिक वन, एक उद्यम” कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गौतमले व्यक्त गरेका छन्। साथै, वन, नदी र लालपुर्जा वितरणसम्बन्धी समस्याको समाधानमा उच्च प्राथमिकता दिने उल्लेख गरिएको छ। क्षेत्र नं. १ मा हाल १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाले उम्मेदवारी दिएका छन्।



