पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन । योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालबाट पनि शुरु भएको छ ।




सो क्रममा मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताए । तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता उनको छ ।आजदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन थालिएको हो । एचपिभि खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
खोप काठमाडौंको प्रसुति अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल वीरेन्द्रनगर र डडेलधुरा अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप सरकारले निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले निकट सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी खोप दिने तयारी गरेको छ ।



