काठमाडौं । नेपालबाट दैनिक १ हजार मेगावाटभन्दा बढी बिजुली निर्यात सुनिश्चित भएको छ । तर नेपालकै अझै १८ स्थानीय तहमा राष्ट्रिय प्रशारण विद्युत् पुग्न सकेको छैन । कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको भनेर तथ्यांक सार्वजनिक भएको छ । तथ्यांकमा ओखलढुंगामा ९८ प्रतिशत विद्युत पुगेको भनेपनि चम्पादेवी गाउँपालिकाको वडा नम्बर तीनको तल्लो चित्रे अँध्यारोमै छ । यसले प्राधिकरणको तथ्यांक त्रुटिपूर्ण मात्रै देखाएको छैन आन्तरिक विद्युत व्यवस्थापनमा ध्यान नदिएको पनि पुष्टि भएको छ ।
प्राधिकरणको ‘विद्युतीकरण तथ्यांक २०८१’ ले ओखलढुंगामा ९८ दशमलव १७ प्रतिशत उल्लेख गरेको छ । राष्ट्रिय प्रशारण ग्रिड नपुगेपछि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत् र सौर्य ऊर्जाबाट बिजुली उपभोग गरिरहेका छन् ।



प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा कुन प्रदेशमा कति विद्युतको पहुँच ?
कोशी प्रदेश
– ९९.३० प्रतिशत विद्युतीकरण
– सोलुखुम्बुमा ८९.०४ प्रतिशत र संखुवासभा ९३.९९ प्रतिशत मात्रै
मधेश प्रदेश
– शतप्रतिशत विद्युतीकरण
बागमती प्रदेश
– ९९.९७ प्रतिशत विद्युतीकरण
– काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, नुवाकोट, र चितवनमा शतप्रतिशत विद्युतीकरण।
गण्डकी प्रदेशः
– ९९.४० प्रतिशत विद्युतीकरण
– मनाङमा ८७.८१ प्रतिशत मात्रै
लुम्बिनी प्रदेशः
– ९८.४९ प्रतिशत विद्युतीकरण
– रुकुम पूर्वमा ३२.२४ प्रतिशत र रोल्पामा ८५ प्रतिशत मात्रै
कर्णाली प्रदेशः
– ७४.३८ प्रतिशत विद्युतीकरण
– मुगुमा ३१.८० प्रतिशत र डोल्पामा ४२.७५ प्रतिशत मात्रै
सुदूरपश्चिम प्रदेश
– ८६.५८ प्रतिशत विद्युतीकरण
– बाजुरामा ३३.५१ प्रतिशत र बझाङमा ६९.०३ प्रतिशत मात्रै
प्राधिकरणले प्रस्तुत गरेको तथ्यांकअनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच पुर्याएको दाबी गरिए पनि, केही स्थानीय तहहरूमा अझै पनि राष्ट्रिय प्रशारण ग्रिडको पहुँच छैन । प्रदेशगत विवरण अनुसार पनि कर्णालीमा सबैभन्दा कम विद्युतीकरण भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षभित्र सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने सरकारको घोषणालाई कार्यान्वयन गर्न तयारी भइरहेको छ ।
राष्ट्रिय ग्रिड नपुगेका १८ स्थानीय तह र विद्युतीकरणमा कम प्रतिशत भएका जिल्लाहरूमा विशेष ध्यान दिन आवश्यक छ । प्राधिकरणले लघु जलविद्युत् र सौर्य ऊर्जाको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरे पनि, दीर्घकालीन समाधानको लागि राष्ट्रिय प्रशारण ग्रिड विस्तार गर्नुपर्ने देखिन्छ । ओखलढुंगामा विद्युत नै नपुगेको भनिरहँदा प्राधिकरणले प्रतिशतमा ठूलो सफलता हासिल गरेको देखाउनुले प्रतिवेदनमाथि प्रश्न उब्जाएको छ ।



