बागमती प्रदेश सरकारले पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागी साता ब्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ। पछिल्लो समय लम्पी स्किन रोगको प्रकोप फैलदै गएपछि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यहि साउन २५ गतेबाट ३१ गतेसम्म साता ब्यापी खोप अभियान सञ्चालनको घोषणा गरेको छ ।



खोप लगाउनुपूर्व अहिले जनशक्ति छनौट प्रकृया, खोप खरिद, भण्डारण तथा प्रचार प्रसार सामाग्री तयार पर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । खोप अभियानमा सहभागी हुने पशु चिकित्सक र अन्य प्राविधिकलाई यहि साउन २३ गते अभिमुखिकरण प्रदान गरिने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
खोप अभियानका क्रममा पशुमा लगाइएको खोपको प्रभावकारीताका सम्बन्धमा आगामी भदौ महिनामा अनुगमन गरिने मन्त्रालयले उल्लेख गरेको छ । बागमती प्रदेशका १३ वटै जिल्लामा अभियान सञ्चालन हुनेछ । बागमती प्रदेशमा १९ लाख भन्दा बढि पशुचौपाया छन् ।
मुलुकभर तीब्र गतिमा फैलिरहेको यो प्रकोपबाट विशेषगरि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका किसानहरु प्रभावित भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पटक फैलीएको यो संक्रमण ७६ जिल्लामा पुगिसकेको छ ।



