काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिका–५ स्थित डाम्री (काब्राफेद) विद्यालय परिसरमा रोकेर राखिएको ट्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।
दुर्घटनामा नौबहिनी गाउँपालिका–५ निवासी ७ वर्षीय कुन्दन घर्ती मगरको ज्यान गएको छ । त्यस्तै ११ वर्षीय पारस बुढा मगर घाइते भएका छन् ।



श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ३ मा अध्ययनरत अन्य साथीहरू सहित दुवै बालक टिफिन समयमा विद्यालय परिसरमा खेलिरहेका थिए । सोही क्रममा रोकेर राखिएको ट्याक्टरमा चढेर खेल्ने क्रममा ट्याक्टर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हुन् । ट्याक्टर करिब १ सय ५० मिटर तल खसेको छ ।
घटनालगत्तै डाम्री प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय बहानेबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



