रौतहट जिल्लाको गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत सबगढा क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटनामा परेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ना ४ ख ५३१८ नम्बरको बस बुधबार बिहान लचक मोड कट्ने क्रममा अनियन्त्रित भई सडकको बायाँपट्टि कोल्टो परेको हो। बस सडकबाट केही तल खसेर पल्टिएको भए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाका बेला बसमा करिब २५ यात्रु सवार थिए, जसमा केहीलाई सामान्य चोटपटक लागेको जनाइएको छ। उनीहरूलाई प्राथमिक उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार बस तीव्र गतिमा रहेको र लचक मोडमा अचानक नियन्त्रण गुमाएपछि सडकको छेउतिर पल्टिएको बताइएको छ। दुर्घटनापछि केहीबेरका लागि सडक अवरुद्ध भएको थियो। तर, प्रहरी र स्थानीयवासीको सहकार्यमा बसलाई हटाइएपछि अहिले सडक पुनः सुचारु भएको छ। घटनास्थलमा खटिएको प्रहरी टोलीका अनुसार चालक र सहचालक दुवै सकुशल रहेका छन्। दुर्घटनाको कारण प्राविधिक जाँच तथा चालकसँग सोधपुछको माध्यमबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी सावधानीपूर्वक सवारी सञ्चालन गर्न सबै चालकहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ। विशेष गरी घुम्ती तथा मोडमा तीव्र गति नियन्त्रण गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय