हेटौंडा – लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना मेसिन तथा तान मर्मत गरी सफल परीक्षण उत्पादन सुरु गरिएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगको विद्युत् प्रणाली, भौतिक संरचना र पुराना मेसिन मर्मतसम्भार गरेपछि परीक्षण उत्पादन अघि बढाइएको हो।

मेसिन सञ्चालनमा आएसँगै वर्षौंदेखि सुनसान रहेको उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ। उद्योगका पुराना उपकरणलाई मर्मत गरेर सञ्चालनमा ल्याइएपछि परीक्षणका रूपमा कपडा उत्पादन सुरु गरिएको हो।

सरकारले गत असार १८ गते हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको प्रक्रिया अघि बढाइएको हो। परीक्षण उत्पादनबाट प्राप्त परिणाम, मेसिनको अवस्था, उत्पादन क्षमता तथा लागतलगायतका विषयको मूल्याङ्कन गरेर उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको योजना छ।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि।सं। २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। कुनै समय सरकारी स्वामित्वमा सञ्चालित महत्वपूर्ण उद्योगका रूपमा रहेको यो उद्योग वि।सं। २०५७ सालदेखि भने बन्द अवस्थामा छ।

उद्योग बन्द भएपछि पटक–पटक पुनः सञ्चालनका लागि सरकारले अध्ययन, समिति गठन तथा विभिन्न योजना अघि सार्दै आएको थियो। तर, विगतका प्रयासहरू कार्यान्वयनमा आउन नसक्दा उद्योग लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन।

यसपटक नेपाली सेनाको नेतृत्वमा पूर्वाधार र मेसिन मर्मत गरी परीक्षण उत्पादन सुरु भएपछि उद्योग पुनः सञ्चालनको सम्भावना बढेको छ। यद्यपि, पुराना मेसिन तथा संरचनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने बनाउनु, उत्पादन लागत प्रतिस्पर्धी बनाउनु, बजार सुनिश्चित गर्नु र उद्योगलाई दिगो रूपमा सञ्चालन गर्नु सरकारका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन्।

परीक्षण उत्पादनको परिणामका आधारमा आवश्यक थप मर्मत तथा सुधार गर्दै उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। लामो समय बन्द रहेको उद्योग पुनः सञ्चालनमा आएमा स्वदेशी कपडा उत्पादन बढ्नुका साथै रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय