संसद र सार्वजनिक समारोहमा एक अर्काविरुद्ध विषबमन गर्ने प्रमुख दलका नेताहरुबीच चियापान समारोहमा भने हार्दिकता देखिएको छ । नेकपा एमालेले चाडपर्वको अवसर पारेर गरेको चियापानमा नेताहरुले मन माझ्ने काम गरेका हुन् ।




प्रमुख दलहरुले चाडपर्वका अवसरमा गर्ने चियापानले विवाद र एक आपसका तिक्तता कम गर्न सघाउने विश्वास नेता र सर्वसाधारणले गरेका छन । एमालेले बुधबार चाडपर्वको अवसरमा आयोजना गरेको चियापानमा सहभागी नेताहरुले चियापानले सम्वाद सेतुको काम गर्ने विश्वास प्रकट गरेका हुन् । चियापानमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको र एमालेको चियापान कार्यक्रमले पार्टीहरु बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको बताउनु भयो । संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले पार्टीले गर्न लागेको जनपरिचालनलाई सरकारमा बसेर आन्दोलन भनेर गलत प्रचार भएको गुनासो गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालीन न्यायलाई पीडित केन्द्रित भएर टुंग्याइने बताउनु भयो । चियापानमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग सहकार्य हुन लागेको कुरामा सत्यता नभएको दाबी गर्नुभयो ।
चियापानमा सहभागी अन्य नेताहरुले चाडपर्व लक्षित आयोजना गरिएको चियापान कार्यक्रमले एकता निर्माण गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास प्रकट गर्नुभयो । चियापानमा सहभागी केही नेताले भने निश्चित ऐजेण्डा विना आयोजना गरिने समारोहको अर्थ नरहने प्रतिक्रिया दिएका छन् । दलका नेताहरुले चियापानका विषयमा फरक फरक खाले प्रतिक्रिया दिएपनि दलहरुबीचका असहमति अन्त्य गर्न र सम्वादको ढोका खुला गर्न भने यस्ता कार्यक्रम प्रभावकारी हुने देखिएका छन् ।



