काठमाडौं । एक महिने स्वस्थानी ब्रत कथाको आज विधिपूर्वक समापन गरिदै छ । माघ शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम आजको दिनबाट अन्त्य गरिँदैछ ।

आज मध्यान्हकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रातमा जाग्राम बसी भोली बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुनेछ । हिन्दू धर्मालम्बीहरुले चोखो रही घर–घरमा एक महिनाभर ब्रतकथाका ३१ अध्यायहरु पाठ वाचन गर्ने गर्दछन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । श्री स्वस्थानी माताप्रति आस्था राख्ने महिला–पुरुष दुबैले समान रुपमा एक महिनाभर ब्रत लिन्छन् । यसरी ब्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गरी महिनासम्म स्वस्थानीको कथा श्रवण गर्छन् । स्वस्थानी ब्रत र कथा प्रारम्भ भएपछि प्रायः परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरु पूर्णरुपमा साकाहारी हुन्छन् ।

अष्टमातृका देवीको बीचमा रहेकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ । स्वस्थानीका चारवटा हात छन् । चार हातमा चक्र, त्रिशूल, तरवार अनि कमलको फूल रहेको छ । श्री स्वस्थानी मातालाई शुद्ध चित्त अनि सफा संकल्प लिएर भक्ति अनि श्रद्धा गर्नाले हरेक भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ ।

अष्टमातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्व रहेको छ । तपाई हामी धेरैलाई कामै थाहा छ कि दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्टमातृकाको प्रतिकको रूपमा लिइन्छ । स्वस्थानी ब्रतकथामा कुमार र अगस्त्यमुनी बीचको संवाद हो । स्वस्थानी कथा आराध्यदेव भगवान शिवको महिमासँग जोडिएको छ । श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ भने अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय