काठमाडौं – करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले विभिन्न माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०को केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीहरूले आफ्नो रोजगारीको स्थायित्व, सेवा–सुविधा तथा श्रमको उचित मूल्यांकन हुनुपर्ने माग राख्दै कार्यालय घेराउ गरेका हुन्।
कर्मचारीहरूले आफूहरूलाई लामो समयदेखि अस्थायी प्रकृतिको सेवामा राखिएको भन्दै स्थायी तथा व्यवस्थित रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। साथै, समान प्रकृतिको काम गर्ने कर्मचारीबीच सेवा–सुविधामा विभेद गर्न नहुने उनीहरूको भनाइ छ। आफ्ना माग सम्बोधन गर्न सीटीईभीटी प्रशासनसँग पटक–पटक आग्रह गर्दा पनि अपेक्षित पहल नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।



कार्यालय घेराउका क्रममा कर्मचारीहरूले विभिन्न मागसहितका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सीटीईभीटी नेतृत्वसँग आग्रह गरेका छन्।
कर्मचारीहरूको आन्दोलनका कारण सीटीईभीटीको केन्द्रीय कार्यालयमा नियमित कामकाजसमेत प्रभावित भएको बताइएको छ। आन्दोलनरत कर्मचारीहरूले माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
यता, कर्मचारीका मागका विषयमा सीटीईभीटी प्रशासनको आधिकारिक धारणा भने आउन बाँकी छ। आन्दोलनरत कर्मचारी र परिषद् नेतृत्वबीच वार्ता तथा छलफलमार्फत समस्या समाधानको प्रयास हुने अपेक्षा गरिएको छ। करार तथा ज्यालादारी कर्मचारीको रोजगारीको स्थायित्व र सेवा–सुविधासम्बन्धी विषय लामो समयदेखि उठ्दै आएको छ। अहिले सीटीईभीटीका कर्मचारीले थालेको आन्दोलनले अस्थायी प्रकृतिको रोजगारीमा रहेका कर्मचारीको अधिकार र भविष्यको विषयलाई पुनः बहसमा ल्याएको छ।



