‘कालो सुन’को उपनामले चिनिने अलैँचीको माग भारतीय बजारमा बढ्दै गएको छ । भारतमा अलैंची उत्पादनमा कमी आउँदा अलैंचीको माग बढ्नुका साथै मुल्य समेत बढेको छ । आठ वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य ओरालो लाग्दै प्रतिमन २० हजारसम्म झरेको थियो । तर, गत वर्षबाट फेरि मूल्य पाउन थालेपछि यस वर्ष प्रतिमन ८० हजार हाराहारीमा किनबेच भइरहेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ ।

यो वर्ष भारतमा अलैंची उत्पादनमा कमी आउँदा भने दशकदेखि निरन्तर ओरालो लागेको मूल्य निरन्तर बढ्दो क्रममा रहेको महासंघले जनाएको छ । अलैंची उत्पादनमा कमी आएसँगै भारतीय बजारमा मूल्य बढ्दो क्रममा छ । भारतीय बजारमा माग बढ्दो र मूल्य वृद्धि हुँदा नेपाललाई फाइदा भएको छ । तथापी नेपालमा पनि उत्पादन घटेकाले किसानले भने मुल्य बढे पनि पर्याप्त लाभ लिन नसकेको महासंघले जनाएको छ । गत वर्ष अलैँची सुरुवातमा २५ हजार प्रतिमनबाट बिक्री सुरु भएको थियो । सिजनको अन्तिमसम्म ५९ हजार प्रतिमन बिक्री भएको थियो ।

नेपाल विश्वमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल भने बजारीकरणका लागि सधैं भारतमा भर पर्नुपर्ने अवस्था छ ।नेपालले विश्वको आधाभन्दा बढी हिस्सा ओगटे पनि नेपाली बजारको मूल्य भारतीय बजारले उच्च प्रभाव पर्ने गर्छ ।नेपालको अलैंचीको मूल्य भारतीय बजारको माग र उत्पादनका आधारमा तय हुने हुँदा कुन वर्ष कति मूल्य पाउँछ भन्ने किसानलाई यकिन नै हुन्न । यसैबीच, चालु आर्थिक वर्षको मंसिरसम्म मेची भन्सार कार्यालय काँकरभिट्टाबाट २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । जसबाट तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको तथ्यांक छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय