काठमाडौं । तीन महिना समयावधि पाएको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले काम थालेको ६५ दिन पूरा भएको छ । अहिलेसम्म समितिले ३३ वटा बैठक बसेर सरोकारवालसँग छलफल गरेको छ ।

समितिले शुक्रबारदेखि सोधपुछको काम थालेको छ । काम थालेको दुई महिनाभन्दा बढी समय वितेपछि बल्ल सोधपुछ थालेको समितिले समयमै काम सकेर प्रतिवेदन बुझाउला त ? भन्ने प्रश्न उब्जिएको छ । तर, छानविन समिति भने कार्यतालिका नै बनाएर काम गरिरहेकाले तोकिएकै समयमा छानबिन सक्ने दाबी गर्छ ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले काम थालेको ६५औँ दिनमा सोधपुछको काम सुरु गरेको छ । ३३औं बैठकमा समितिले गोरखा बचत तथा ऋण सहकारी संस्था सातदोबाटोका संस्थापक अध्यक्ष डि.वी बम्जन र निलम्बित अध्यक्ष इमानसिंह राई, गौतमश्री बहुदेश्यीय सहकारी संस्था लिमिटेड काठमाडौंका निलम्बित अध्यक्ष रामबहादुर गौतम र लालिगुँरास बहुदेश्यीय सहकारी संस्था पुल्चोकका निलम्बित अध्यक्ष सुरेन्द्र भण्डारीसँग सोधपुछ गरेको छ । अब समितिले यसरी नै टीओआरको अनुसूची १ र २ मा रहेका २९ वटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँग सोधपुछ गर्नेछ । तीमध्ये २१ जना विदेशमा रहेकाले उनीहरुलाई झिकाउन समितिले गृह मन्त्रालय र प्रहरीलाई निर्देशन दिएको छ । अरु तीन सयभन्दा बढी आरोपी प्रहरी हिरासतमा रहेका समितिले जनाएको छ । उनिहरुसँग पनि समितिले सोधपुछ गर्नेछ । सबैसँग छलफल गर्न सम्भव नभएकाले प्रतिनिधिमूलक रुपमा छलफल गर्ने समितिले जनाएको छ ।

३२औं बैठकसम्म समितिले राम्रो काम गरिरहेका सहकारीका सञ्चालक, नेपाल प्रहरी, गृह मन्त्रालय, सहकारी पीडित, सहकारीसँग जोडिएका सरकारका निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको थियो । यहीबीचमा समितिले तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई पनि समितिमा बोलाए पनि लामिछाने उपस्थित हुनुभएन । समितिको कार्यसूचीमा गोरखा मिडिया नेटर्वकसँगको छलफल रहेकाले त्यही बैठकमा लामिछानेसँग छलफल हुने समितिले जनाएको छ । काम थालेको दुई महिना वितिसक्दा पनि आधा बाँकी रहेकाले समयमै काम सम्पन्न हुनेमा आशंका छ । अब समितिले कारागारमा रहेका तीन सयभन्दा बढी, बाहिर रहेका सहकारी सञ्चालक, गोरखा मिडिया नेटर्वकका प्रतिनिधि र विदेशमा फरार रहेका २१ जनासँग सोधपुछ गर्नुपर्नेछ । अन्यमा सहज देखिए पनि विदेशमा रहेकालाई झिकाउन पहल नै सुरु भएको छैन । यस्तोमा सोधपुछ प्रभावित हुने देखिन्छ । यसले समग्र समितिको कार्यसूचीलाई नै प्रभावित पार्न सक्छ । तर, सभापति थापा भने समयमै काम सक्ने दाबी गर्नुहुन्छ ।

सोधपुछसँगै समितिले प्रतिवेदन तयारीको काम पनि थालिसकेको छ । ३२औं बैठकसम्म भएका छलफललाई एकत्रित गरेर प्रतिवेदन तयारीको काम सुरु गरेको समितिले जनाएको छ । तीन महिने कार्यवधि पाएको समितिको कार्यकाल आउँदो भदौ १८ गते सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय