त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबीन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामत १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो ।
पौडेल नेतृत्वको समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना सदस्य रहेका छन् । कार्यालयले सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले र सुन ल्याउने कार्यमा संलग्न गोरखाका मिनबहादुर घलेलाई पक्राउ गरी थुनामा राखेर आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ ।



विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा चन्द्र घलेमाथि खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको हो । कार्यालयले सुन सजिलै बाहिर ल्याउन सक्ने सम्भावना नभए पनि भन्सारको सुक्ष्म निगरानीका कारण भन्सार विभागले विमानबाट नै नियन्त्रणमा लिन सफल भएको पनि जनाएको छ ।



