काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गर्नुभएको छ।
इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन कुँवर अष्ट्रिया प्रस्थान गर्नुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरसँगै इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली पनि महासभामा सहभागी हुने छन । नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।उनले इन्टरपोलको १०० औं वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएका थिए । १९५ सदस्य राष्ट्र रहेको इन्टरपोलका प्रतिनिधिहरू सहभागी हुने महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा निर्णय गर्न मतदान हुने भएकाले नेपालले पनि उक्त मतदानहरूमा भाग लिनुका साथै इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने छ ।



महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।



