प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबारबाट काठमाडौँमा शुरु भएको छैठौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै मारिएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले इपिएस परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुले परीक्षामा सहभागी हुन पाउने आदेश अदालतले दिइसकेकाले परिस्थितिलाई सहज बनाउन पनि सबैलाई आह्वान समेत गरे । प्रधानमन्त्री दाहालले घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताए ।
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीको विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै देश भित्रै रोजगारी अवसर सृजना हुने गरी आर्थिक समृद्धि नयाँ अभियान चलाउनेतिर सबैले ध्यान दिनुपर्ने पनि बताए । उनले सरकारले श्रमिक मैत्री नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता पनि जनाए ।प्रधानमन्त्री दाहालले देशमा आशाका नयाँ रक्तसञ्चार हुने गरी समृद्धिको आधार तयार पार्ने कामलाई प्राथमिकता दिएको दाबी समेत गरे ।






