काठमाडौं । जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि भारतले करिव १६ करोड बराबरको सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान नयाँ दिल्लीबाट नेपालगन्ज पुगेको थियो । ११ टनभन्दा बढी आपतकालीन सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।

भारतले राहत स्वरुप त्रिपाल, कम्बल, स्लीपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी दिएको हो । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले जारकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरूप उक्त सामग्री आएको हो । आगामी दिनमा पनि थप राहत सामग्रीहरू उपलब्ध गराउने भारतीय दूतावासले जनाएको छ ।






