सरकारले विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रवार सरकारका प्रवक्ता रेखा शर्माले मापदण्ड संशोधन गर्ने जानकारी दिएकी हुन् । बैठकले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब २६ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले सरकारले मिति २०८० मंसिर १२ देखि १५ गतेसम्म अष्ट्रियाको भियानामा आयोजना हुने ९१ औँ इन्टरपोल महासभामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहाललाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ ।



बैठकले प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्का सदस्यहरुले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावितहरुको सहयोगार्थ एक महिनाको पारिश्रमीक प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गर्ने, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहितको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।



