काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले प्रदर्शन गर्दै राजीनामा माग गरेका छन् । उनीहरुले मन्त्री किराँती अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राजीनामा समेत माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेका थिए । बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको विरोध भइरहेको छ ।



नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए । उनले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उनको भनाइ छ ।
विरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणालगायत नेताहरुको पनि सहभागिता रहेको थियो । राणाले सुदन किरातीको अभिव्यक्तिको विरोध गर्दै आफूले भेटेरै राजीनामा दिन भनेको बताए ।



