https://fb.watch/pzDpQhsX_B/

काठमाडौं । महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले साधारणसभा सम्पन्न गरेको छ ।

‘स्वस्थ जीवनको लागि पिउने पानीमा शुद्धता, घरघरमा पुर्याउने हाम्रो प्रतिबद्धता’ नारा बोकेको समितिले साधारणसभा सम्पन्न गरेको हो । २०६३ सालमा उपभोक्ता भेलाबाट गठन भएको समितिले तत्कालिन महादेवस्थान गाविसको ९ वटा वडा हाल चन्द्रागिरि नगरपालिकाको ५, ६ र ७ वडाका ४ हजार ४ सय ३६ घरघुरीलाई पानी वितरण गरिरहेको छ । समितिले सहलगानीमा वडा नम्बर ७ मा ४ सय र २ सय घनमिटर क्षमताको पानी ट्याङ्की निर्माण गरेको छ भने वडा नम्बर ५ मा १ सय ८० घनमिटर क्षमताको पानी ट्याङ्की निर्माण गरेको छ । साधारण सभामा समितिले गत आर्थिक वर्षमा १० करोड ८२ लाख ३ हजार १ सय ३२ रुपैयाँ रहेको र चालु आ.ब.मा १४ करोड ५१ लाख ४४ हजार ८ सय ४८ कुल सम्पत्ति रहेको जनाएको छ । समितिले विभिन्न वित्तिय संस्थाहरुमा १ करोड ६५ लाख २२ हजार ६ सय ५० रुपैयाँ मौज्दात विभिन्न वित्तिय संस्थामा रहेको जनाएको छ ।

साधारण सभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरभित्र छरिएर रहेका समितिलाई एकीकृत गर्न नगरपालिकाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्था ऐन २०८० जारी गरेको बताउनु भयो । उहाँले ऐनको विषयमा नगर र समितिबीच जीत र हारको कुरा नभएको तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ का वडाअध्यक्ष, सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि, उपभोक्तालगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाको बन्द सत्रबाट उपभोक्ता समितिले नयाँ कार्यसमिति चयन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय