काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् ।
उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए। भ्रमणकाक्रममा नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौतामा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतारका समकक्षीबीच हस्ताक्षर गरेका हुन्। भेटवार्तापछि दुई देशबीचका खेलकूद, विज्ञान प्रविधि, सञ्चार (राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी), कूटनीतिक तालिम, शिक्षा, कला र संस्कृतिको क्षेत्र लगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच पनि सम्झौता भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेको भन्दै नेपाली श्रमिकहरूको उच्च प्रशंसा गरेका थिए ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार दुई दिने भ्रमणमा आएका कतारका अमिर थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेर स्वागत गरेका थिए । विमानस्थलको विशिष्ठ कक्षमा नेपाली सेनाको टोलीले उनलाई विशेष सम्मान (गार्ड अफ अनर) दिएको थियो। थानीको सम्मानमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय