हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दरमा बृद्धि गरेको भन्दै आन्दोलित व्यवसायीले शुक्रबार आफ्ना पसल, व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकालाई चाबी बुझाउने भएको छ ।

चरम आर्थिक मन्दी, ऋणको साँवा–व्याज भुक्तानीमा परेको चाप, कारोबारमा आएको गिरावटका कारण व्यवसायी पलायन हुन बाध्य भइरहेका बेला स्थानीय सरकारले करको दर र दायरा दुबै बढाउँदै विस्तार गरिएका दायराहरुमा पनि राजश्वको दर चर्को कायम गरिएको, घरभाडाको आधारदर बढाइएको, एकीकृत सम्पत्ति कर, विज्ञापन करमा समेत चरम बृद्धि भएको भन्दै आन्दोलित व्यवसायीले पहिलो चरणको आन्दोलनको अन्तिम दिन उपमहानगरपालिकालाई चाबी हस्तान्तरण गर्न लागेको हो ।

व्यवसायीले बुधबार र बिहीबार दुईदिन उपमहानगरपालिकामा धर्ना दिँदै करको दर घटाउन माग गर्दै आएका छन् । व्यवसायीको आन्दोलनप्रति चौतर्फी समर्थन भइरहेको र नगर सभाका बहुमत सदस्यले विशेष नगरसभा बोलाउन माग गरेपछि हेटौँडा उपमहानगरपालिकाले वार्ताको पहल गरेको छ । हेटौंडा उपमहानगरपालिकाले बुधबार मकवानपुर उद्योग वाणिज्य संघलाई सम्बोधन गर्दै शुक्रबार बिहान ८ बजेका लागि वार्ताको आव्हान गरेको छ । उपमहानगरपालिकाको प्रस्तावमा व्यवसायीले आन्दोलनका कार्यक्रम नसकी वार्ता नबस्ने जनाएपछि वार्ता शुक्रबार दिउँसो २ बजेका लागि तय भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय