राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गरेका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।
नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणासमेत प्रदान गरेका थिए । हरेक बर्ष राष्ट्रपति कोजाग्रत पूर्णिमाका अवसरमा नवदुर्गा मन्दिरमा पूजाका लागि जाने प्रचलन छ ।






