काठमाडौं । शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना ठूला गरी १७५ पटक पराकम्प गइसकेको छ भने अझै जानेक्रममै छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ११ः४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ ।
भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् । जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । त्यस्तै, जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन्। उनीहरूमध्ये केही गम्भीर रहेका छन् ।



त्यसयता पनि साना–ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गएराति १४ः४७ बजेदेखि आज अपराह्नसम्म १७५ वटा साना–ठूला परकम्प रेकर्ड भएका छन् । त्यसमध्ये पाँच वटा चार म्याग्नेच्युडभन्दा ठूला परकम्प रेकर्ड भएका छन् । पछिल्लो पटक अपराह्न ३ः४० बजे ४.२ म्याग्नेच्युडको परकम्प गएको छ । कात्तिक १७ गते राति शक्तिशाली भूकम्प गएपछि पनि लगातार तीन वटा चार म्याग्नेच्युडभन्दा बढीका परकम्प गएका थि ए। राति १२ः०८ बजे ४.५, राति १२ः२९ बजे ४.२ र राति १२ः३५ बजे ४.३ म्याग्नेच्युडको परकम्प गएको थियो ।
त्यसपछि कात्तिक १८ गते बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको परकम्प गएको थियो । त्यसयता पनि लगातार साना परकम्प गइरहेको केन्द्रले जनाएको छ । साना परकम्पले भने खासै असर गरेको छैन । तर, स्थानीय बासिन्दा त्रसित बनिरहेका छन् । भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने अनुमान गर्दै आएका थिए । पछिल्लो ५०० वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन । २०७२ सालको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि यो सबैभन्दा ठूलो भूकम्प हो ।



