काठमाडौं – भारतीय आध्यात्मिक गुरु तथा ईशा फाउन्डेसनका संस्थापक सद्गुरु जग्गी वासुदेव नेपाल आएका छन्। उनी साउन २७ गते नयाँदिल्लीबाट विशेष चार्टर उडानमार्फत काठमाडौं आइपुगेका हुन्। सद्गुरुको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान नयाँदिल्ली पुगेको थियो। नेपाल आएपछि सद्गुरु चितवन पुगेका छन्। चितवनमा उनको आगमनसँगै उनका अनुयायी तथा शुभेच्छुकहरूले स्वागत गरेका छन्। नेपाल भ्रमणका क्रममा सद्गुरुले विभिन्न आध्यात्मिक गतिविधिमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
यसै भ्रमणका क्रममा सद्गुरुको उपस्थितिमा आगामी भदौ १४ गते अर्थात् अगस्ट ३० मा काठमाडौंको पुल्चोकस्थित द प्लाजामा ‘मिस्टिक आई’ कार्यक्रम आयोजना हुँदैछ। ईशा फाउन्डेसनका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ध्यान, आन्तरिक शान्ति र जीवनका गहिरा पक्षबारे अनुभव तथा ज्ञानमा केन्द्रित गतिविधि हुनेछन्। ईशा फाउन्डेसनले नेपालमा पहिलोपटक ‘मिस्टिक आई’ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा सहभागी हुन कुनै पूर्वआध्यात्मिक वा ईशा कार्यक्रमको अनुभव अनिवार्य नरहेको आयोजकले जनाएको छ। १५ वर्षभन्दा माथिका जोकोही सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।



सद्गुरु योग, ध्यान तथा आध्यात्मिक शिक्षाका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। उनीद्वारा स्थापित ईशा फाउन्डेसनले योग तथा आन्तरिक कल्याणसँगै वातावरण संरक्षणलगायतका क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। नेपालमा सद्गुरुको भ्रमणलाई उनका अनुयायी र आध्यात्मिक क्षेत्रमा रुचि राख्नेहरूले चासोका साथ हेरेका छन्। यसपटकको भ्रमणको मुख्य सार्वजनिक कार्यक्रम भने काठमाडौंमा हुने ‘मिस्टिक आई’ रहेको छ।



