प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताएका छन । आज ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवालाई समतामुलक ढंगले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्नुपर्ने बताएका हुन ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमा ऐनको प्रावधानअनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको बताए ।



प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमालाई अझ बढी प्रभावकारी बनाउन सह–भुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ता, समयमै शोध भर्ना प्रविधिमैत्री प्रणाली जस्ता व्यवस्था र प्रावधान सुधारको आवश्यकता औल्याए । सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसहरुमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने जस्ता महत्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य गरिरहेको उनको भनाइ थियो ।
सरकार बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री दाहालले उल्लेख गरे । स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा विकास गर्न सकने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निस्कर्षमा पुग्ने उनले स्पष्ट पारे ।



