काठमाडौँ । इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ ।
कतारी अधिकारीहरूले इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् । हमासले नेपालका विद्यार्थी विपिन जोशी सहित करिब दुई सय ४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ । हमासले थप १० जना बन्धक छाडेमा थप एक दिन युद्ध रोकिने इजरायली सरकारको वक्तव्यमा भनिएको छ । हमासले टेलिग्राममा बयान जारी गर्दै ’मानवीय आधारमा युद्धविरामका लागि सहमति’ भएको जनाउर्दै इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवाद दिएको छ । बन्धक कहिलेदेखि छोडिन्छ भन्नेबारेमा भने स्पष्ट जानकारी नआए पनि पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ । अमेरिकी अधिकारीहरूका अनुसार इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने छ ।गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।



हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएकोे छ भने इजरायलको आक्रमणमा परी ४ हजार ५ सयभन्दा बढी बालबालिका सहित १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।



