रोजगारीका लागि लाखौँ रुपैयाँ खर्च गरेर युरोपेली मुलुक रोमानिया पुगेका नेपाली श्रमिक काम, पारिश्रमिक तथा सम्झौताअनुसारका सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले शनिबारदेखि कम्पनीविरुद्ध आन्दोलन सुरु गरेका हुन्। कम्पनीबाहिर भेला भएका श्रमिकहरूले ‘वी वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन्। नेपालबाट वैदेशिक रोजगारीका लागि रोमानिया पुग्न प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको उनीहरूको भनाइ छ। तर, यति ठूलो रकम खर्च गरेर युरोप पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक गुजारा चलाउनसमेत कठिन भएको उनीहरूले गुनासो गरेका छन्।

आन्दोलनरत श्रमिकका अनुसार कम्पनीले महिनामा मुस्किलले दुईदेखि तीन दिन मात्रै काम दिने गरेको छ। बाँकी दिन काम नदिई बिदामा राख्ने गरिएको उनीहरूको आरोप छ। एक श्रमिकले १२ लाख रुपैयाँ खर्च गरेर रोमानिया पुगे पनि नियमित काम नपाएको गुनासो गरेका छन्। उनका अनुसार कम्पनीमा काम पाइने आश्वासन पाएर आएका श्रमिकले यहाँ आएपछि सम्झौताअनुसारको काम र पारिश्रमिक दुवै पाउन सकेका छैनन्। ‘१२ लाख रुपैयाँ तिरेर आएको हो, तर एक महिनामा दुई–तीन दिन मात्रै ड्युटी दिन्छन्, बाँकी २७–२८ दिन बिदामा बसाइदिन्छन्,’ ती श्रमिकले भने, ‘बिसार कम्पनीमा काम पाइन्छ भनेर आएका थियौँ, यहाँ आएपछि भनेअनुसार काम पनि पाएनौँ, तलब पनि पाएनौँ।’

सम्झौतामा एउटा तलब, हातमा आउने रकम अर्कै
श्रमिकहरूको मुख्य असन्तुष्टि नेपालबाट रोमानिया जानुअघि गरिएको रोजगार सम्झौता र कम्पनीबाट प्राप्त हुने वास्तविक पारिश्रमिकबीचको अन्तरलाई लिएर छ। नेपालबाट जानुअघि गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु उल्लेख गरिएको उनीहरूको भनाइ छ। तर, कम्पनीले सम्झौताअनुसार पारिश्रमिक उपलब्ध नगराएको श्रमिकहरूको गुनासो छ। त्यसमाथि आवास खर्चका नाममा रकम कटौती गर्न थालेपछि श्रमिकहरूको असन्तुष्टि थप चुलिएको हो। काम नै नियमित नपाइरहेको अवस्थामा विभिन्न शीर्षकमा रकम कटौती हुँदा आर्थिक समस्या झन् बढेको उनीहरू बताउँछन्। लाखौँ रुपैयाँ ऋण लिएर विदेश पुगेका श्रमिकले नियमित आम्दानी नहुँदा ऋणको किस्ता तिर्न, घरपरिवारलाई पैसा पठाउन र आफ्नै दैनिक खर्च धान्नसमेत कठिनाइ भोगिरहेका छन्।

कम्पनीले तलब नदिएको नभई कामको समय घटेको दाबी
रोमानियास्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेन्द्र गौतमले भने श्रमिकले दाबी गरेजस्तो कम्पनीले तलब नै नदिएको अवस्था नरहेको बताएका छन्। उनका अनुसार बिसार लजिस्टिक एसआरएलमा नेपालीसहित करिब ६ सयदेखि ७ सय जनासम्म कामदार कार्यरत छन्। त्यसमध्ये करिब ४ सय नेपाली श्रमिक रहेको उनको भनाइ छ। पछिल्लो समय रोमानियाको आर्थिक गतिविधि सुस्ताएको, करको दर बढेको तथा जाडो मौसम सुरु भएसँगै कामको मात्रा घटेका कारण कम्पनीले कामदारको ड्युटी आवर कम गरेको गौतमले बताएका छन्। उनका अनुसार कम्पनीले यसअघि कामदारलाई निःशुल्क आवास सुविधा उपलब्ध गराउँदै आएको थियो। तर, पछिल्लो समय आवास खर्चका नाममा रकम कटौती गर्न थालेपछि श्रमिकको हातमा आउने पारिश्रमिक घटेको हो। ‘पहिला कम्पनीले बस्ने सुविधा निःशुल्क दिएको थियो, अहिले आवास खर्चबापत केही रकम काट्न थालेपछि श्रमिकको हातमा आउने तलब घटेको हो,’ गौतमले भने, ‘तीन–चार सय ल्यु आवास खर्च कटाउँदा महिनामा ९–१० हजार रुपैयाँसम्म कम हुने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।’ उनका अनुसार रोमानियामा कर कट्टीपछि आवास, बिजुली तथा अन्य खर्चसमेत तिर्नुपर्ने भएकाले श्रमिकको वास्तविक बचत घटेको छ। कम्पनी ठूलो भएकाले कर्मचारीको तलब विवरण सरकारी कर कार्यालयमा बुझाउनुपर्ने र पारिश्रमिक भुक्तानीको अभिलेखसमेत राखिने हुँदा तलब नै नदिएको अवस्था नरहेको गौतमको दाबी छ।

रोमानियामा नेपाली श्रमिकको संख्या बढ्दै, समस्या पनि उस्तै
गौतमका अनुसार पछिल्लो समय रोमानियामा नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा बढेको छ। अहिले त्यहाँ करिब ७५ देखि ८० हजार नेपाली रहेको अनुमान गरिएको छ। तर, सरकारी अभिलेखमा भने ५० देखि ५५ हजार हाराहारी नेपालीको विवरण रहेको उनको भनाइ छ।युरोपेली मुलुकमा रोजगारीको आकर्षण बढेसँगै नेपालबाट रोमानिया जाने क्रम तीव्र बनेको छ। तर, गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम नपाउने, पारिश्रमिकमा समस्या हुने र विभिन्न शीर्षकमा रकम कटौती हुने समस्याले नेपाली श्रमिक प्रभावित भइरहेका छन्। गौतमका अनुसार नेपालका म्यानपावर कम्पनी तथा एजेन्टहरूले राम्रो रोजगारी र आकर्षक आम्दानीको आश्वासन दिएर श्रमिक पठाउने गरेका छन्। तर, रोमानिया पुगेपछि उनीहरूले अपेक्षाअनुसारको काम र आम्दानी पाउन नसक्ने अवस्था देखिएको छ। ‘एजेन्ट र म्यानपावरले राम्रो अवसर छ भनेर पठाउँछन्, तर यहाँ आएपछि अवस्था फरक हुन्छ,’ गौतमले भने, ‘१० लाख रुपैयाँ खर्च गरेर आउनेले महिनामा ६ सय युरो कमाउँदा पनि ऋण तिर्न र खर्च धान्न मुस्किल हुन्छ।’ उनका अनुसार केही रोजगारदाता कम्पनीले विदेशी श्रमिकबाट स्थानीय कामदारभन्दा बढी समय काम गर्ने अपेक्षासमेत राख्ने गरेका छन्। विदेशी श्रमिकले रोजगारीसँग सम्बन्धित विभिन्न कागजी प्रक्रिया र अन्य जिम्मेवारी पूरा गर्नुपर्ने हुँदा उनीहरू थप जोखिममा पर्ने गरेका छन्।

रोमानियामा नेपाली दूतावासको माग
रोमानियामा नेपाली श्रमिकको संख्या बढ्दै गए पनि त्यहाँ नेपालको आफ्नै आधिकारिक कूटनीतिक नियोग नहुँदा समस्या समाधानमा कठिनाइ हुने गरेको गौतमको भनाइ छ। हाल रोमानियासम्बन्धी कूटनीतिक सेवा जर्मनीस्थित नेपाली दूतावासमार्फत उपलब्ध हुँदै आएको छ। तर, समस्या पर्दा प्रभावकारी सहयोग पाउन कठिन हुने गरेको नेपाली समुदायको गुनासो छ। गौतमले रोमानियामा नेपालीको संख्या र श्रमिकसम्बन्धी समस्या बढ्दै गएकाले त्यहाँ नेपालको आधिकारिक कन्सुलर वा दूतावासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। ‘यहाँ नेपालीको संख्या धेरै छ, तर समस्या पर्दा सम्पर्क गर्ने आधिकारिक निकाय छैन,’ उनले भने, ‘कसैको मृत्यु हुँदा शव नेपाल पठाउनसमेत चन्दा उठाउनुपर्ने अवस्था छ। श्रम गरेर विदेश आएका नेपालीले समस्या पर्दा राज्यबाट सहयोग पाउनुपर्छ।’उनका अनुसार रोमानियामा नेपाली श्रमिकको मृत्यु, बेपत्ता हुने, आत्महत्या तथा अन्य समस्याका घटना पनि आउने गरेका छन्। यस्ता घटनामा समयमै सरकारी सहयोग र सहजीकरण आवश्यक रहेको उनले बताएका छन्।

श्रमिकको समस्या समाधान गर्न सरकारसँग आग्रह
रोमानियामा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले आन्दोलनरत श्रमिकका माग सम्बोधन गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन्। उनीहरूले प्रभावित श्रमिकको अवस्थाबारे निष्पक्ष छानबिन गर्न, रोजगार सम्झौताअनुसारको काम र पारिश्रमिक सुनिश्चित गर्न तथा श्रमिकको अधिकार संरक्षण गर्न आग्रह गरेका छन्।आन्दोलनरत श्रमिकहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्। त्यस्तै, जर्मनीस्थित नेपाली दूतावासलाई रोजगारदाता कम्पनी र प्रभावित श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्था बुझ्न तथा समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ।यद्यपि, यस विषयमा बर्लिनस्थित नेपाली दूतावासले भने नेपालीहरू आन्दोलनमा उत्रिएको र उनीहरूले भोगिरहेको समस्याबारे आफूहरूलाई जानकारी नभएको जनाएको छ।

वैदेशिक रोजगारीको नाममा लाखौँको लगानी, जोखिममा श्रमिक
रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले भोग्नुपरेका समस्या पुनः सतहमा ल्याएको छ। नेपालबाट म्यानपावर कम्पनी तथा एजेन्टमार्फत आकर्षक रोजगारीको आश्वासन पाएर लाखौँ रुपैयाँ खर्च गर्ने श्रमिक गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम र पारिश्रमिक नपाउँदा समस्यामा पर्ने गरेका छन्।विशेषगरी ऋण लिएर विदेश जाने श्रमिकले नियमित काम र आम्दानी नपाउँदा आर्थिक तथा मानसिक दबाब झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ।

रोमानियामा देखिएको घटनामा श्रमिकहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको आरोप लगाएका छन् भने एनआरएनएका प्रतिनिधिले आर्थिक गतिविधि सुस्ताउँदा कामको समय घटेको र आवास खर्च कटौतीका कारण समस्या उत्पन्न भएको बताएका छन्। दुवै पक्षका दाबीबीच देखिएको अन्तरलाई स्पष्ट पार्न रोजगार सम्झौता, तलब भुक्तानी विवरण, कामको समय र आवास खर्च कटौतीसम्बन्धी विषयमा निष्पक्ष छानबिन आवश्यक देखिएको छ। वैदेशिक रोजगारीमा जानुअघि गरिएका प्रतिबद्धता र गन्तव्य मुलुकमा श्रमिकले पाउने वास्तविक सुविधाबीचको अन्तर अन्त्य गर्न सरकारले प्रभावकारी अनुगमन तथा कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता यो घटनाले फेरि उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय