काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान कसैले चाहँदैमा बदल्न नसक्ने बताएका छन् । आज नेपाली कांग्रेसको बागलुङ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानले सबैको अधिकार स्थापित गरेकाले कसैले चाहँदैमा परिवर्तन नहुने बताएका हुन् । उनले पछिल्लो समय फैल्याइएको अफवाहप्रति विश्वास नगर्न कार्यकर्तालाई आग्रह समेत गरे । सभापति देउवाले देशकै ठूलो दल भएको नताले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा पनि कांग्रेसकै भएको बताए ।
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ भन्ने कुरा सत्य नभएको उल्लेख गर्दै सभापति देउवाले दलभित्रको फरक मतलाई व्यवस्थापन गरिरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालले संविधानले निर्दृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न आवश्यक रहेको बताए । उनले संविधानले सबै वर्ग, जातजाति र भाषाभाषीको अधिकार सुरक्षित गरेकाले त्यसको कार्यान्वयन गर्ने दायित्व सरकारको भएको स्पष्ट पारे ।






