काठमाडौं – क्षमताभन्दा बढी सामग्री बोकेका मालवाहक सवारीसाधनका कारण कलंकी–नागढुङ्गा सडकमा क्षति बढ्दै गएको छ। सडक विभागका अनुसार ओभरलोडका कारण सडकको आयु घट्नुका साथै बालुवा, गिट्टीजस्ता सामग्री बोकेका ट्रकबाट पानी चुहिँदा दुर्घटनाको जोखिमसमेत बढेको छ। काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिनाअघि मात्रै ओभरले गरिएको थियो। सामान्य अवस्थामा सडकमा करिब पाँच वर्षपछि ओभरले गर्नुपर्ने भए पनि ओभरलोडका कारण दुई वर्षमै पुनः मर्मत गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।
सडकको अवस्था र ओभरलोडसम्बन्धी गुनासो बढेपछि सडक विभागले मंगलबार राति सडकको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँडेको र तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएको देवकोटाले जानकारी दिए। उनका अनुसार सडकको एउटा एक्सलको क्षमता १० टन भए पनि सिंगल एक्सलका ट्रकले १२ देखि १३ टनसम्म तथा डबल एक्सलका ट्रकले २५ टनसम्म भार बोकेको भेटिएको थियो। त्यस्तै, केही ट्रकमा यातायात व्यवस्था कार्यालयबाट स्वीकृत मापदण्डभन्दा ठूलो ढल्ला बनाइएको समेत पाइएको छ।



बालुवा तथा गिट्टी बोकेका ट्रकबाट सडकमा पानी चुहिँदा सडकको सतह चिप्लो हुने र मोटरसाइकललगायत सवारीसाधनको ब्रेक प्रभावकारी नहुने भएकाले दुर्घटनाको जोखिम बढ्ने देवकोटाको भनाइ छ।
ओभरलोड नियन्त्रण तथा मापदण्डविपरीत सञ्चालन हुने मालवाहक सवारीमाथि कारबाहीका लागि सडक विभागले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने जनाएको छ। सडक विभागसँग प्रत्यक्ष कारबाही गर्ने अधिकार नभएकाले सम्बन्धित निकायसँगको समन्वयमा नियमित अनुगमन र नियमन आवश्यक रहेको देवकोटाले बताए। यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, प्रशासन र प्रहरीले नियमित रूपमा अनुगमन तथा नियमन गरेमा सडकको क्षति र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिने विभागको भनाइ छ।



