सर्लाही – सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा व्यवस्थित रूपमा निर्माण भएको नयाँ बसपार्क उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि संचालनमा आउन सकेको छैन । यातायात व्यवस्थापनको लागि बनाइएको उक्त बसपार्क मलंगवा नगरपालिकाको वडा न–२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको छ । पुर्व मेयरको पालामा मलंगवा वडा न–२ मा रहेको श्रीराम कबिर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा संघीय आयोजना कार्यान्वयन एकाई जनकपुरधामको लगानीमा कन्काई इन्टरनेशनल विल्डर्स सुरुंगा झापाले ८ करोड ३१ लाख रूपैयाँको लागतमा निर्माण गरेको उक्त बसपार्कको निर्माणकार्य वर्तमान मेयर नागेन्द्र प्रसाद यादवको पालामा सम्पन्न भइ उद्घाटन भएको थियो ।
संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले २०७९ साल माघ ४ गते नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको बसपार्क बस व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण उद्घाटन हुन सकेको थिएन । वडा न–९ स्थित रहेको पुरानो बसपार्क अत्यन्त साँघुरो र अव्यवस्थित रहेकोले बस व्यवसायी मध्येको एक पक्ष नयाँ बसपार्कमा जाने पक्षमा थिए भने अर्को पक्ष पुरानै बसपार्कबाट बस संचालन गर्ने अडान लिँदै आएका थिए । जसले गर्दा उद्घाटना ढिलाई भएको थियो । जसोतसो अर्को पक्षलाई पनि सहमति गराई हस्तान्तरण गरेको एक महिना पछि घुमधामका साथ मेयर यादव र तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्तरूपमा उद्घाटन गरि नयाँ बसपार्क संचालनमा ल्याएको थियो । तर उद्घाटन गरेको एक महिना पनि नबित्दै बसहरु पुनः पुरानै बसपार्कबाट संचालन भइरहेका छन् ।



लोकल रुटमा चल्ने म्याजिक बाहेक मलंगवाबाट छुट्ने दुई दर्जन बढी बस र टेम्पुहरु पुरानै बसपार्कबाट संचालन भइरहेका छन् । बीच बजारमा बसपार्क राख्दा नगरको सौन्दर्य र बजारको व्यवस्थापनमा समस्या आउने भएकोले बीच बजारमा बसपार्क राख्नु ठीक नहुने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ । पुरानो बसपार्कमा बसहरु राख्न तथा यात्रुलाई चढाउन र ओराल्न पर्याप्त ठाउँ नरहेको र सो बसपार्कबाट बस निकाल्दा र प्रवेश गराउँदा सडकमा जाम लाग्ने गरेकोले एकैसाथ ५२ वटा ठूला र २० वटा साना सवारीसाधन पार्किङ गर्न मिल्ने नयाँ बसपार्कबाटै बस संचालन गर्दा ठिक हुने नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी बताउँछन् । नयाँ बसपार्कमा साढे दुईतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, क्यान्टिन, वर्कसपक्षेत्र लगायतका सुविधा रहेका छन् ।
नगरपालिकाको बेवास्ताको कारणले गर्दा करोडौँ लगानीमा बनेको बसपार्क संचालन नआउँदा बालुवा पानी हाले जस्तो भएको छ । यस विषयमा नगरप्रमुख यादवसँग कुरा गर्दा उहाँले यसका लागि तुरुन्तै प्रमुख प्रशासकीय अधिकृत र सरोकारवालाहरुलाई बसाएर ठोस निकास निकाल्ने बताउनुभयो । करोडौं लगानी गरेर बनाइएको सुविधा सम्पन्न नयाँ बसपार्क स्थानीय सरकारले अहिले सम्म पनि पुर्ण रुपमा संचालनमा ल्याउन नसक्नु दुःखद भएकोले यसलाई तत्काल सञ्चालन ल्याउन स्थानीयको माग छ । मलंगवा यातायात प्रालिका उपाध्यक्ष दिपलाल महतोका अनुसार नयाँ बसपार्क नगर क्षेत्रदेखि धेरै टाढा रहेकोले यात्रुहरुलाई बस चढ्न जान २० देखि ३० मिनेट पैदल हिंड्नु पर्छ ।
यसअघिका नगरप्रमुखले बसपार्क बनाउँदा यातायात व्यवसायीहरु सँग एकपटक पनि सरसल्लाह नगरि आफ्नो स्वार्थ पुर्तीको लागि धमाधम निर्माणकार्य पूरा गरेको उनको आरोप छ । साना म्याजिकहरुका कारण आफुहरुको व्यवसाय धारापमा परेको गुनासो सुनाउँदै उपाध्यक्ष महतोले मलंगवाको प्रवेशद्वारको रुपमा रहेको शिवसागर चौकमा बसपार्क राख्दा सबैलाई सुविधा हुने भएकोले आफुहरु सो ठाउँमा जान तयार रहेको बताए।



