काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानु हुनेभएको छ । नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने नेपाल र भारतबीचको फाइनल खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा श्रीलंकालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।



लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने दाउमा मैदानमा उत्रदै छ ।



